रुपन्देही-पञ्चकन्या समूहले रुपन्देहीको सियारी गाउँपालिका–२, भग्दरीमा ‘युपिभिसी झ्याल तथा ढोका’ उत्पादन गर्ने उद्योगको औपचारिक सुरुवात गरेको छ। उद्योगले विगत एक वर्षदेखि उत्पादन गर्दै आए पनि सोमबारदेखि मात्रै विधिवत् शुभारम्भ गरिएको हो।
८० करोड रुपैयाँ लगानीमा स्थापना गरिएको ‘पञ्चकन्या डिमेक्स’ नेपालकै सबैभन्दा ठूलो युपिभिसी उद्योग भएको कम्पनीको दाबी छ। कम्पनीका निर्देशक उज्ज्वल श्रेष्ठका अनुसार विदेशी आयातमा निर्भरता घटाउँदै अन्तर्राष्ट्रिय स्तरको झ्याल–ढोका उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याइएको हो। नेपालमा हाल वार्षिक १३ हजार मेट्रिक टन युपिभिसी झ्याल–ढोका खपत हुने गर्छ, जसको झण्डै ८५ प्रतिशत चीन र भारतबाट आयात हुँदै आएको छ। उद्योगमा उज्ज्वल श्रेष्ठ, रितेश सिलवाल, नारायण केसी, उदीप श्रेष्ठ र आशिक श्रेष्ठको लगानी रहेको छ ।
उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस युपिभिसी र साल ब्राण्डका झ्याल–ढोका बजारमा ल्याइसकेको छ। ती उत्पादनमा २० वर्षको वारेन्टी दिइएको छ। झ्याल–ढोकाहरू टिकाउ, पानी र आगो प्रतिरोधी, आवाज नछिराउने, रङ नउडीने, सफा गर्न सजिलो र वातावरणमैत्री रहेको कम्पनीको दाबी छ।
उपभोक्ताको विविध आर्थिक हैसियतलाई ध्यानमा राखी प्रिमियम, मिडियम र इकोनोमिक श्रेणीमा उत्पादन भइरहेको रितेश सिलवाले जानकारी दिए। उद्योगमा हाल ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने २५९ जना फेब्रिकेटर व्यवसायीलाई तालिम दिइएको छ।
युरोपियन प्रविधिको प्लान्टबाट उत्पादन हुने युपिभिसी झ्याल–ढोकाहरूलाई जर्मन संस्था ‘एसकेजेड’ ले गुणस्तर प्रमाणपत्र पनि प्रदान गरिसकेको कम्पनीले जनाएको छ। पछिल्लो समय काठको मूल्य वृद्धिसँगै युपिभिसी झ्याल–ढोकाप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले यो उद्योगले आन्तरिक उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्