मोतीपुर-बुटवल उपमहानगरपालिका–१९ का जीवन पाण्डे र उनकी पत्नी हेमा पाण्डेले व्यावसायिक खेतीको नयाँ अध्याय सुरु गरेका छन्। विदेशमा लामो समय काम गरेर फर्किएका जीवनले अबको यात्रा आफ्नै माटोमा पसिना बगाउँदै आत्मनिर्भर बन्ने योजना बनाएका छन्— जसको सुरुवात उनीहरुले बेलाउती खेतीबाट गरेका छन् ।
पाण्डे दम्पतीले २०८१ जेष्ठ महिनामा आफ्नो दुई कठ्ठा जमिनमा ११० वटा बेलाउती का बिरुवा रोपे। सुरुमा यो खेतिपातीबारे खासै अनुभव नभए पनि युट्युबजस्ता डिजिटल माध्यमबाट सिकेर उनीहरूले नयाँ प्रयास थाले।
“बेलाउतीको उत्पादन, सौन्दर्य र स्वास्थ्यका कारण बजार राम्रो छ भन्ने सुनेपछि हामीले पनि यो बाली रोज्यौं,, जीवनले भने, र अहिले आफै बेच्न पाउँदा आत्मसन्तुष्टि छ।”
उनीहरूको मेहनत सफल देखिएको छ। हालसम्म दुईपटक उत्पादन संकलन भई स्थानीय बजारमा बिक्री भइसकेको छ। ग्राहकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ भने उत्पादनको माग पनि बढ्दो छ।
खेतीले मात्र होइन, यसले रोजगारीको अवसर पनि सिर्जना गरेको छ। अहिले उनीहरूले एक जना स्थानीय युवालाई स्थायी रूपमा खेतमा कामका लागि राखेका छन्। “हामी सँगै बढौं भन्ने सोच राखेर काम गरिरहेका छौं,” हेमा बताउँछिन्।
बेलाउती खेती सुरु गर्दा न कुनै सरकारी सहयोग, न त प्राविधिक परामर्श नै उनीहरूले पाए। “हामीले सरकार वा पालिकाबाट कुनै प्रकारको सहयोग पाएका छैनौं, सबै आफैं सिकेर, आफैं लगानी गरेर सुरु गरेका हौं,” जीवनको गुनासो छ।
तर सबैभन्दा ठूलो चुनौती भने बेलाउती राख्ने र्यापिङ पेपर नेपालमै सहज रूपमा उपलब्ध नभएको हो। “विदेशी फल भएकाले यसको भण्डारणमा विशेष ध्यान दिनुपर्छ, तर पेपर नहुँदा बेलाउतीमा कालो दाग लाग्ने समस्या हुन्छ,” जीवन भन्छन्, “यदि सरकारले यस्तो सामग्रीको व्यवस्था गर्न सक्यो भने हामीजस्ता साना किसानका लागि धेरै राहत हुने थियो।”
जीवन र हेमा खेतीलाई केवल आर्थिक आम्दानीको स्रोत मात्र होइन, सृजनात्मक अभिव्यक्तिको माध्यम पनि मान्छन्।
“यो खेतीले पैसा मात्रै हैन, आत्मसन्तुष्टि दिएको छ। अब हामी यसको क्षेत्र थप बढाउँदै छौं,” उनीहरू भन्छन्।
यस्ता उदाहरणीय किसानहरूको हौसला अझ बढाउनका लागि स्थानीय तह र प्रदेशरकेन्द्र सरकारबाट लक्षित कार्यक्रम, प्राविधिक सहयोग, आवश्यक सामाग्रीको सहज पहुँच र बजार व्यवस्थापन अत्यावश्यक भएको कृषक जीवन पाण्डे बताउछन्।
कृषिमा नयाँ सोच ल्याउने कृषकहरूलाई प्रविधि र लगानीमैत्री वातावरण भएमा उत्पादन मात्र होइन, गाउँघरमा समृद्धिको ढोका खोल्ने उनीहरुको भनाई छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्