परराष्ट्रमन्त्री राणा र भियतनामी उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भियतनामी उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ : भियतनामी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएकाे छ।

 

 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आएकी भियतनामी उपराष्ट्रपति सुआनसँग मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।

भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको मन्त्री राणाकाे सचिवालयले जनाएकाे छ। त्यस क्रममा मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।

मन्त्री राणाले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन्। उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।

पछिल्ला वर्षहरूमा नेपाल र भियतनामका पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

मन्त्री राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन्।

त्यसैगरी उनले नेपाल आगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेकाे पनि उनकाे सचिवालयले जनाएकाे छ।

भेटमा मन्त्री राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति सुआनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेन्डामा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्ने भेटमा छलफल भएको थियो।

प्रकाशित मिति : शनिबार, भाद्र ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij