पिनास, यसका कारण, लक्षण, उपचार र खान नहुने कुराहरू

पिनास, यसका कारण, लक्षण, उपचार र खान नहुने कुराहरू

साइनोसाइटिस अर्थात् पिनास भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरू सुन्निनु वा नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुग्ने रोग हो ।

सामान्य रुघाखोकी लागेको बेलामा लापरबाही गर्नाले पिनास हुन सक्छ । धूलो–धूवाँका कारण, नाकमा हुने संक्रमण तथा एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु, ट्युमरले गर्दा पनि सिँगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ । खासै जटिल रोग नमानिने पिनासका कारण नाकमा सिँगान थुनिने, सिँगान गनाउने तथा उक्त ठाउँमा ब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ ।

(नाकको हावा भरिने भाग) साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आएर हावाको राम्रोसँग आवतजावत हुन नपाउँदा वा साइनसहरू भित्रका फोहोर बाहिर आउन नसक्नु पिनासको मुख्य कारण हो । चिसोको कारण, चुरोटको धूवाँ, वायु प्रदूषण, रुघाको औषधिहरूको बढी प्रयोग, सुख्खा मौसममा हुने सुख्खा हावाका कारण तथा भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा पिनास हुन सक्छ ।

पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । पिनास हुन लागेको व्यक्तिमा सुरुमा रुघा लाग्ने, निरन्तर सिँगान बगिरहने, नाक बन्द भइरहने, टाउको दुख्ने, कान दुख्ने, माथिल्ला दाँतहरू दुख्ने, आँखा सुन्निने, आँखा दुख्ने, नाकबाट सास फेर्न नसक्ने, नाकबाट केही गन्ध थाहा पाउन नसक्ने, घाँटी खस खस हुने, आधा कपाल दुख्ने जस्ता मुख्य लक्षणहरू हुन्छन् । पिनास बिग्रिने क्रममा नाकबाट दुर्ग्न्धित रक्त मिश्रित पहेँलो सिँगान आउने गर्छ ।

पिनास आफैंमा ठूलो जटिल रोग नभए पनि सामान्य कुरामा लापरबाही गर्दा निम्तिने रोग भएकाले यसबाट बच्नका लागि विशेष ध्यान दिनु जरुरी हुन्छ । पिनास प्रायः गरेर लक्षणहरू र डाक्टरले गर्ने जाँचको आधारमा मात्र पत्ता लाग्छ । तर, समस्या आउना साथ चिकित्सककहाँ गएर परीक्षण गराइ उपचार नगराएको खण्डमा यसले गम्भीर परिस्थितिमा निम्त्याउन पनि सक्छ ।

पिनास लामो समयसम्म रहेमा वा पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्न गइ नाकभित्र रगत पीप जमेर नाकको मासु तथा हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढी रगत बग्ने, नाकभित्र किरा पर्ने, आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग र तालु प्वाल पर्ने, कान बिग्रनेलगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यु समेत हुन सक्छ ।

रुघाखोकी हुँदा संक्रमण फैलिएर पिनास हुने भएकाले चिसो खाने कुरा धेरै खानु हुँदैन । दही, दूध, माछा, मासु, अण्डा, चिल्लो र मसलायुक्त खानेकुराहरू पूर्ण रूपले वार्नु पर्छ । तरकारीमा तामा, फर्सी, गोलभोडा, पिडालु, मूला, करेला, बकुल्ला र तोरीको सागले असर गर्ने हुँदा यिनीहरू पनि खानु हुँदैन । पिनासले सताएको बेला अति नै सादा भोजन गरि जहिले पनि तातो पानी पिउने गर्नुपर्छ । यसबाहेक रोगीको लक्षण र समस्याको गम्भीरताअनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिनु अतिआवश्यक हुन्छ ।

यसका साथ साथै घर वरिपरि सफा राख्ने, घरबाट निस्किने बेलामा धूलो–धूवाँबाट जोगिने, सफा मास्क लगाउने, प्रशस्त मात्रामा पानी पिउने, डेरी पदार्थहरूबाट टाढा रहने गर्नाले पिनासबाट जोगिन सकिन्छ । रुघा लागेको बेलामा लापरवाही नगर्नु नै पिनासबाट जोगिने महत्वपूर्ण तरिका हो । पिनास बिग्रिने अवस्थामा पुग्यो भने डाक्टरको परामर्शमा अप्रेसन गरेर उपचार गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij