भैरहवा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताउनुभएको हो ।
संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले परिणाममुखी ढंगले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटकपटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले संघीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्य अनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको स्मरण गर्नुभयो । तर, संघीय सरकारले यस सम्वन्धि अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रियस्तरका ट्राभल एजेन्सी हरूलाई भैरहवा ल्याउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभइ यात्रु भरिएर आउन सक्ने वातावरण बनाउन जोड दिनुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
प्रकाशित मिति : बुधबार, पुष १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्