काँग्रेस नेताहरुले भने – प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला

काँग्रेस नेताहरुले भने – प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला

बुटवल,  । नेपाली काँग्रेसका नेताहरुले अब देशको प्रधानमन्त्री कसलाई बनाउने हो भन्ने विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिको आयोजनामा काँग्रेसबाट पाल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवारसँग बुटवलमा बसोबास गर्दै आएका मतदाताबीच शनिबार बुटवलमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेताहरुले कसलाई प्रधानमन्त्री बनाउने हो भन्ने कुरा मतदाताले राम्रोसंग बुझेर मतदान गर्ने हो भने यस क्षेत्रका अधिकांश सिटसहित काँग्रेसलाई बहुमत ल्याउन कुनै समस्या नहुने दावी गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय राजेन्द्रगोपाल सिंह, रामबहादुर कार्की, नेपाली काँग्रेस पाल्पाका पूर्व पार्टी सभापति बिरबहादुर रानाले मुलुक अस्थिर राजनीतिको सिकार बन्दै गएको र यसलाई ट्रयाकमा ल्याउनका लागि काँग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा सरकार बनाउनु पर्ने र त्यसका लागि काँग्रेसले बहुमत ल्याउनु पर्ने बताउनु भयो । उहाँले मुलुकलाई सहि दिशा र गति दिनकालागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने र काँग्रेस नेतृत्वमा सरकार बनाउन सबै ठाउँमा काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले पहिले बुटवलबाट नुनतेल बोक्ने पहाडि जिल्लाहरुको बाटो पाल्पाको विकासले रुपन्देहीको बिकासलाई समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो । अहिलेको निर्वाचन विशेष परिस्थितीको निर्वाचन भएकाले यस्तो परिस्थितीमा देशको बागडोर सम्हाल्न सक्ने, सबै दलहरुलाई मिलाएर लैजान सक्ने, मिसन र भिजन भएको नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर काँग्रेस उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयो । उहाँले बुटवल र पाल्पाको सम्बन्ध नङ मासुको जस्तो रहेको बताउँदै रुपन्देही र पाल्पाको विकास पनि आपसमा परिपुरक भएकाले पाल्पा र रुपन्देहीका काँग्रेस उम्मेदवारलाई विजयी बनाउँदा दुबै तर्फको विकासमा पनि सहकार्य गर्न सहज हुने भनाई राख्नुभयो ।
कार्यक्रममा पाल्पाका क्षेत्र नं. १ का उम्मेद्वार सन्दिप राना र क्षेत्र नं. २ का उम्मेद्वार हिमालदत्त श्रेष्ठले बुटवलमा बस्दै आएका पाल्पाली मतदातालाई मतदानका लागि गृहजिल्ला पुगेर सहयोग गर्न आग्रह गर्नुभयो । पाल्पालाई ‘स्टे हव’को रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसले पाल्पालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने भनाई राख्नुभयो । क्षेत्र नं. २ का उम्मेद्वार श्रेष्ठले पाल्पालाई ‘स्टे हब’ का रूपमा विकास गर्ने योजना प्रस्तुत गर्दै २०४८ सालको जस्तै राजनीतिक साख फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाल्पालाई ‘स्टे हव’को रुपमा विकास गर्दा रुपन्देही आसपालका जिल्लाका सहित भारतीय पर्यटकलाई समेत आकर्षण गर्न सकिने उहाँको भनाई थियो । उहाँले बसाई सराईका कारण रित्तिएका गाउँलाई पुरानै लयमा फर्काउन बसाई सराई नियन्त्रण गर्ने योजना ल्याउने र गाउँको सामाजिक, आर्थिक तथा औद्योगिक विकास गरि बसाईसराई गरेकालाई गाउँ फर्किने वातावरण तयार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी क्षेत्र नं. १ का उम्मेद्वार रानाले अहिलेको विषम परिस्थितीमा हुँदै गरेको निर्वाचनमा काँग्रेस उम्म्दवारलाई जिताउन आग्रह गर्दै पाल्पाको समग्र विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी समानुपातिक उम्मेद्वार रिता सेन, नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे, नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, किशोर पंगेनी लगायतले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij