भैरहवा, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले एक हप्ते उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिंचाई, रोग तथा किरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे प्राविधिक ज्ञान सम्बन्धि तालिम प्रदान गरेको छ ।
रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागीता थियो । तालिममा किसानबाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरु पनि स्वेच्छाले तालिममा सहभागी भएका थिए । एक हप्तासम्म किसानहरुलाई सैद्वान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँखेती प्रविधि तालिम सिकाइएको थियो ।
तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जातबारे समेत थाहा थिएन । अधिकांशलाई कुन गहुँ छरेको भन्ने पनि थाहा नभएको बताए । तालिममा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका संयोजक डा। रोशन बस्नेतले बताउनुभयो ।
माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाई व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारण जस्ता कुरा किसानहरुलाई सिकाइएको बाली तथा बागवानी अनुसन्धान, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा। टेक प्रसाद गोतामेले बताउनुभयो ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ । हाल थप ४ जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएका छन् ।
अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिंक गहुँ–१, जिंक गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगंगा र हिमगंगा जात विकास गरेको छ । यी जातमा जिंक र आइरनको मात्रा बढी पाइने तथा रोग, किरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दावी गरिएको छ । नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दावी छ ।
वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ । तालिम सम्पन्न भएसँगै सहभागी किसानहरूले आफ्ना समुदायमा सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्