भैरहवा – भैरहवा क्षेत्रका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू चिन्तित बनेका छन्। ग्यास आयातमा कमी नभएको बताइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन्। केही स्थानमा ग्यास किन्नका लागि विक्रेताको पसलमा लामो लाइन लाग्ने गरेको देखिएको छ।
लामो समय पालो कुर्दा पनि खाना पकाउने ग्यास नपाएको स्थानीय प्रदीप ज्ञवालीले बताए। “नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आयो, दैनिक जीवन निकै कष्टकर भइरहेको छ,” उनले भने।
ग्यास विक्रेताहरूले भने कम्पनीबाट पर्याप्त ग्यास नआउँदा अभाव देखिएको बताएका छन्। मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।
यता भैरहवा भन्सार कार्यालयका अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ। उनका अनुसार दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी छ।
स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ।
सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई थप कडाइ गरिएको छ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्