रुपन्देही–लुम्बिनी क्षेत्र लोपोन्मुख पंछी सारसको प्रमुख प्रजननस्थलका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियताका कारण यहाँ सारसको गतिविधि बढ्दै गएको हो।
संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार नेपालमा रहेका करिब सात सय सारसमध्ये ८० प्रतिशतभन्दा बढी जोडी लुम्बिनी आसपासकै क्षेत्रमा बसोबास गर्दै आएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पंछी’ घोषणा गर्दै संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ।
यसैगरी लुम्बिनी विकास कोषले विश्व शान्ति स्तूपको उत्तरतर्फको क्षेत्रलाई सारस संरक्षण क्षेत्रका रूपमा तोकेको छ। संरक्षण क्षेत्र घोषणा भएपछि यहाँ सारसको वासस्थान सुरक्षित बनाउन विभिन्न पहल सुरु गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकादेखि गैडहवा हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि बढ्दै गएको देखिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा सूचीकृत सारस विगतमा अवैध सिकारको जोखिममा रहेको थियो। तर पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सचेतनाका कारण त्यस्ता गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मीहरू बताउँछन्।
यससँगै लुम्बिनी विकास कोषले सारस संरक्षणलाई पर्यटनसँग जोड्ने योजना पनि अघि सारेको छ। कोषले विश्व शान्ति स्तूप परिसरमा पैदलमार्ग निर्माण गर्ने तथा वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्