मकै खेतीबाट हौसिए मोतीगञ्जका किसान

मकै खेतीबाट हौसिए मोतीगञ्जका किसान

सिर्जना भट्टराई

बुटवल, बुटवल वडा नं १८ का बसन्त राना पहिले पहिले आफ्नो १२ कठ्ठा जग्गामा मौसमी खेती लगाउनुहुन्थ्यो , दुई बर्ष देखी उहाँले १५ कठ्ठा जग्गा भाडामा लिएर मकै खेती गर्दै आउनु भएको छ । अहेबको ३१ बर्ष सेवा गर्नु भएका राना जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीबाट सियारी गाँउपालिकामा अहेबको कार्यभार सम्हाल्दै आउनुभएको थियो । रानाले नेपाल सरकारको कर्मचारीको समायोजनको प्रक्रियाका क्रममा कपिलबस्तु जिल्लाको महाराजगञ्जमा केही समय काम गरेपछि घरपाई नमिलेका कारण स्वेच्छिक अबकाश लिनुभयो । अबकाश पछिका दिनमा मौसम अनुसारको परम्परागत खेती गरिरहनु भएका उहाँले मकै खेतीमा आफ्नो भविश्य देख्नुभयो ।

बुटवल लगाएतका स्थानहरुमा हरियो मकै चितवन, नवलपुरबाट आउने गरेको पनी उहाँले थाहा पाउनु भयो । गएको बर्ष उहाँले वडा नं १८ बाट पचास प्रतिशत अनुदान पनि पाउनु भएको राना बताउनु हुन्छ । तर यो बर्ष नगरपालिकाले मकैको पकेट क्षेत्रलाई मात्र अनुदान दिने अथवा अन्य बालिका लागि फरक फरका क्षेत्र जस्तै प्याज , मेवा लगाएतका कृषिका क्षेत्रमा पनि अनुदानका काम गरिरहेकोले आफुले मकै खेती नै गरेको र यसैले व्यावसायीक रुपमानै सन्तोष जनक अबस्था भएको बताउनु भयो । मकै पकेट क्षेत्रका बारेमा आफुलाई त्यती धेरै जानकारी नभएको तर पनि मकै खेतीबाट आफ्नो आठ जनाको परिवारलाई सहज रुपमा जीविका चलेको उहाँ बताउनुहुन्छ । घरका सदस्यले नै काममा सघाउने भएकाले पनि काममा सहज भएको उहाँको भनाई छ ।

मकैमा सकेसम्म बिषादी प्रयोग नगरीकनै उत्पादन गर्न चाहने राना जस्तै मकै खेती गर्दै आउनु भएका अर्का किसान हुनुहुन्छ रामनाथ उपाध्याय , उहाँले पनि विगतका बर्षमा मकै खेती बाट राम्रो आम्दानी गरेको अनुभब सुनाउनु भयो । स्वास्थ्यका दृष्टिकोणले बहुउपयोगी मानिने मकै खेतीमा यो बर्ष भने विचौलियाले मकैको दरमा नकारात्मक प्रभाब पारेको उहाँको गुनासो छ । एक सिजन मात्रै मकै लगाउदै आउनुभएका उहाँलाई व्यावसायीकरणका नाममा किसानको मेहनत अनुुसारको मुल्य किसानले नपाउने तर बिचौलियाले तेब्बर दरले मकैबाट आम्दानी गरिरहेको बताउनु भयो । यस बर्ष आफुले तरकारी संगै मकै खेती गरेको र विषादीको प्रयोग नगरेकाले रोग किराले सताइरहेको बताउनु भयो ।

हामीले बजारमा बिस देखी तीस रुपैयाँमा किनेर खाने मकैलाई किसानले पाँच देखी सात रुपैयाँ घोगामा बिक्रि गर्ने गरेका छन् । उपाध्यायले हरेक सिजनमा मकै उत्पादन गर्न सके अन्य व्यावसाय गर्नु नपर्ने उहाँको अनुभब छ । हुन त नजीकै मकै पकेट क्षेत्र पनि छ , त्यहाँका किसानले पनि मकैमा राम्रो प्रगती भएको देख्नु भएको छ । तर मकै पकेट क्षेत्रका लागि आबश्यक पर्ने जमिन र स्थानिय किसानको पकेट क्षेत्र प्रतिको चासो कम हुनाले किसानहरु आ आफ्नो जग्गामा मकैखेती गर्दै आएका हुन् । आफ्नो जग्गा प्रसस्त नहुनु तथा लिजमा लिएर वडा तथा पालिकामा सिफरिस लिएर जाने काम उनीहरुलाई झण्झटिलो लागेको हो । जसका कारण बिनायकपुरका किसान ले आफ्नो जेथा जति छ त्यसैमा नै मकै खेती गर्दै आएका छन् ।

यता, ५ बर्ष अघि संघीय सरकार अन्र्तगत लागू भएको सर्सत अनुदान अन्र्तगत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना नेपाल सरकारको आफ्नो आन्तरिक बजेटबाट कार्यक्रमको परिकल्पना गरे अनुसार बुटवल उपमहानगरपालिकाले पनि बुटवलका वडा नं १४ र १९ मा १६ जना किसान बाट मकै पकेट क्षेत्र कार्यक्रम शुरु गरेको छ । शुरुमा ७ विगाहा क्षेत्रफलबाट मकै खेती शुरु गरिएको उक्त कार्यक्रम शुरुमा मिलीजुली कृषक समूह बाट शुरुवात भएको हो । मकै पकेट क्षेत्र शुरु हुनु पूर्व त्यस स्थानका कृषकहरुको खेत कतै बाँझो त कतै पशु चौपायालाई दानाका लागि केही मात्रामा उपभोग गर्ने गरि मकै रोप्ने गर्दथे , व्यावसायीकरण थिएन ।

मकै पकेट क्षेत्रको शुरुवात भएपछि उक्त कार्यक्रमका लागि चाहिने यन्त्र तथा उपकरण, प्राबिधिक सीप, मकैको बिउ लगाएतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाटै आउने भयो । कृषि आधुनिकीकरण भन्नाले कृषिमा प्रयोगहुने यन्त्र, उपकरण,तौरतरिका सबैमा प्रबिधि म्रैत्री हुनु भन्ने बुझिन्छ । सोही अनुसार जसका लागि न्युनतम ३० विगाहा क्षेत्रफल चाहिने भएकाले वडा नं १४ र वडा नं १९ लाई समेटेर मोतिगञ्ज मकै पकेट क्षेत्र सञ्चालक समिति क्षेत्र विस्तार गरेर कार्य अघि बढाइएको हो ।

मकै पकेट दुई बर्ष सञ्चालनका लागि पहिलो बर्ष १२ लाख रुपैयाँ र दोश्रो बर्ष ५ लाख रुपैयाँ संघीय सरकारबाट अनुदान बापत आएको हुनाले कार्यक्रम सोही अनुसार अघि बढ्यो । पछि तेश्रो बर्ष बाट संघिय सरकारबाट पैसा आएन । बुटवल उपमहानगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट यस कार्यक्रमलाई निरन्तरता दिएको छ । उपमहानगरले ७ लाख बजेट मकै पकेट क्षेत्रका लागि विनियोजन गरेको बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख तथा कृषि अधिकृत सन्तोष जि सी ले बताउनु भयो । अहिले बुटवल उपमहानगरपालिकाको सहयोगका कारण ३२ जना बाट शुरु गरेको कार्यक्रममा ५३ घर परिवार आवद्ध भएका छन् ।

पहिले धान , तोरी लगाएतका मौसमी खेती गर्ने गरेका किसानले अहिले मकैबाट तेब्बर आम्दानी गर्न सफल भएका छन् । किसान आफैले पनि दुई देखी पाँच दश कठ्ठामा मकै खेती गर्दा सामान्यतया १५ देखी ३५ हजार रुपैयाँ खर्चहुने गरेको र आम्दानी एकलाख भन्दा बढी हुने गरेको छ ।

षोषणका हिसाबले बहुउपयोगी मकै खेतीबाट गत बर्ष किसानहरुले १ करोडरुपैयाँ आम्दानी गर्न सफल भएको मोतिगञ्ज मकै पकेट क्षेत्र समन्वय समितका संयोजक तुल्सी प्रसाद पौडेलको भनाइ रहेको छ । मकैको उन्नत बिउ, आबश्यक मात्रामा मल, र सिंचाइका लागि पानीको तारतम्य मिलाउन सके मकै खेतीबाट राम्रो आम्दानी गर्न सकिने पौडेल बताउनुहुन्छ । त्यसै गरि यस बर्ष हरियो मकै बजारीकरण भैसकेको छ । यस बर्ष किसानहरुले १ करोड ३० लाख २० हजार ८ सय ७५ बराबरको मकैको कारोबार गर्ने लक्ष्य लिएको छ । मोतीगञ्जकै अर्का अगुवा किसान मुरारी खनालले मकै खेतीका लागी उन्नत बिउकै कारण किसानले पहिलेको तुलनामा तीन गुणासम्म बढी उत्पादन गरी आम्दानी बढाउन सफल भएको बताउनु भयो ।

अहिले उत्पादन भएको मकैको लागि किसानले गत बर्षको कात्तिक १५ देखी मंसीर १५ भित्र मकै रोपेका थिए । अहिले रामपुर हाइब्रिड ८ , १० र १२ जातका मकैको बिउ लगाएका हुन् । मकै खेतीको परियोजनाका लागि मकै रोप्ने मेसिन, मकैको झार मार्ने बिषादी, जैबिक विषादी, मकै छोडाउने मेसिन ३ वटा , सिड रिपर २२ वटा, सुरक्षित रुपमा विषादी छर्नका लागि स्प्रे ट्यांकी १९ वटा, साथै जोताइमा सहयोग , गोठेमलमा सहयोग , कामदारमा सहयोग पनि पालिकाले गर्दै आएको छ । साथै दुई वटा कृषक क्षमता विकास तालिम सम्पन्न भएका छन् भने किसानका तर्फबाट सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न भएको जि सीले जानकारी गराउनु भयो ।

मकै पकेट क्षेत्रमा उत्पादित मकै हरियोमा नै घोगा बिक्रि हुदै आएको छ । हरियो घोगा बिक्रि नभएको अथवा रहेको मकैलाई छोडाएर गाईबस्तुलाई दानाका रुपमा प्रयोग गर्ने गरेको संयोजक पौडेलको भनाई छ । भने मकै छोडाउनका लागि र मकै पिस्नको लागि समितिमा चार वटा मेसिन पनि पालिकाले उपलब्ध गराएको छ । मेसिनमा पिसाएर मकैको च्याख्ला, सुजी, रोटी अथवा दाना उद्योगहरुमा समेत प्रयोग हुने गरेको छ ।

यस बर्ष पनि मोतिपुरमा एक कार्यक्रमका विचमा बुटवल उपमहानगरपालिकाले किसानलाई कृषि सामग्री तथा उपकरण उपलब्ध गराएको छ । उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा ज्याप प्लान्टर १० थान, तराजु ५ थान, मिल २ थान तथा विल सिडर लगायतका सामग्री वितरण गरेको हो ।

पछिल्लो समय रुपन्देहीका होटलहरुमा स्वीटकर्नको रुपमा समेत यहीँको मकै प्रयोग हुदै आएको पाइएको छ । त्यसै गरि मकै पोलेर, उसिनेर, अथवा भुटेर पनि खान सकिन्छ । हरियो मकै सिजनमा बढि उत्पान हुने भएकाले बजारीकरणमा प्रतिश्पर्धा हुने भएकाले मकैको बिविधिकरणका लागि पालिकाले मकै सुकाएर त्यसलाई बेकरीका रुपमा मकैको केक,बटुक, बिष्कुट लगाएतका खाद्य सामग्रीहरु बनाउने सोच पालिकाको रहेको शाखा प्रमुख जि सी ले बताउनु भयो । त्यसका लागि तालिमको आयोजना गर्ने तयारीमा रहेको पनी उहाँले बताउनु भएको छ ।बजारमा सिजनमा मात्र प्रतिश्प्रर्धामा रहेको मकै खेतीलाई बजारले मागेको समयमा कृषकले मकै पुर्याउन सकेमा कृषकले मकै बाट आतमनिर्भर हुन कहीँकतै जानै पर्दैन ।

 

 

 

 

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij