काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु सन्देहास्पद भएको उनको टिप्पणी छ ।
‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ । यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ
प्रधानमन्त्रीक यस्तो भनाइले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्ने र नेपालले उठाउँदै आएको वैध दावीलाई समेत प्रभावित पार्ने जोखिम उत्पन्न गरेको उल्लेख गरेका छन् ।
‘रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले संशय र प्रश्नहरु जन्माएको छ,’ घिसिङले भनेका छन् । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने उनको माग छ ।
सीमा समस्या भावनात्मक वा अनुमानका आधारमा नभई ऐतिहासिक तथ्य र विज्ञहरूको अध्ययनका आधारमा समाधान हुनुपर्नेमा घिसिङले जोड दिएका छन् ।
‘राष्ट्रिय हितका विषयमा अस्पष्टता होइन, दृढता र जिम्मेवारी अपेक्षित हुन्छ,’ उनले भनेका छन्, ‘सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको होइन, सम्पूर्ण राष्ट्रको साझा चासो र संवेदनशील विषय हो ।’
प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्