काठमाडौँ , पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा नम्बर १० की रीता भट्टराईकी छोरी रुविनालाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएका थिए। यसका लागि उहाँले स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूसँग मिलेमतो गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
२०७१ साल कात्तिक २० गते वीरगञ्ज महानगरपालिका ३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ साल साउन १३ गते रुविनाको नाममा नागरिकता जारी गरिएको थियो।
अख्तियारले सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी (मतियार) बनेको अभियोग लगाएको छ।
त्यसैगरी, तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात (जन्मदर्ता र नागरिकता सिफारिस) तयार पारेको आरोप छ। गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्