बुटवल, सडक डिभिजन बुटवलले आफूमातहतका १४ वटा निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापनहरूलाई अन्तिम ताकेता गरेको छ।
कार्यालयले २०८३ साल असार ४ गते बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई ७ दिनभित्र कार्यस्थलमा स्रोतसाधनसहित परिचालन हुन र लिखित स्पष्टीकरण तथा कार्ययोजना पेस गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्र कामको प्रगति पेस गर्न नसकेको, पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्ने मनसाय नदेखाएको कार्यालयको ठहर छ।
सूचनामा बुटवल–बेलहिया सडक अन्तर्गत बुटवल चौराहादेखि गोलपार्क–चिडियाखोला खण्डको स्तरोन्नति, महेशपुर–परासी–सुनवल सडक विस्तार, सिद्धार्थ राजमार्गअन्तर्गत आवधिक मर्मत, सैनामैना–१ चेटारी घमाहा सडक निर्माण, बुटवल बाइपास तथा रङ्गशाला–हत्तीसुड लिंक रोड स्तरोन्नति लगायतका आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेका छैनन्।
त्यस्तै गुठी प्रसौनी–रतनगञ्ज–नर्सही–श्रीनगर–कुडिया सडक, पाल्हीनन्दन गाउँपालिका क्षेत्रका शाखा सडक, गोलपार्क–जितगढी–बडेल पोखरी सडक, भैरहवा–लुम्बिनी सडक पुनःस्थापना, सालझण्डी–कञ्चनखोला सडक मर्मत तथा तिनाउ नदी, सियारी र दानव नदीमाथिका पुल निर्माण कार्यसमेत अझै अधुरै रहेको कार्यालयले जनाएको छ।
सडक डिभिजनका अनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्ट कार्ययोजनासहित निर्माण कार्य तत्काल अघि नबढाए प्रचलित कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
कार्यालयले पर्याप्त स्रोत–साधन परिचालन गरी निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्रकाशित मिति : बिहिबार, असार ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्