काठमान्डौँ ।
देशभरका साना तथा सहायक नदीहरूमा पानीको बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्ने अनुमान गरिएको छ । त्यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, अछाम तथा आसपासका जिल्ला भएर बहने खोला तथा नदीहरूमा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाढीको जोखिम भोलि र पर्सिसम्म पनि कायम रहने सम्भावना छ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि पानीको बहाव बढ्ने सम्भावना रहेको जनाइएको छ ।
यद्यपि, देशका प्रमुख तथा ठूला नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले जनाएको छ । आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ । त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि हाल सुरक्षित अवस्थामै रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति : सोमबार, असार १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्