JanataToday.com

Advertisment

SKIP THIS

बन संरक्षणमा जुट्दै महिला

बन संरक्षणमा जुट्दै महिला

शंकरनगर ।

पर्यावरणमा नै असर हुने गरी र वातावरण र वन्यजन्तु लगायत प्राणी प्रभावित हुने गरी विगत एक दशक अघि रितिदै गएको शंकरनगर सामुदायिक वन अहिले भने घना जंगल र जंगली जनावरले भरिपूर्ण भएको छ । “पहिले वनका वन्यजन्तु आएर बाली नाली सबै नोक्सान गर्ने गर्थे । अनि घाँस दाउराको लागि पनि सबै जना जंगल जाने गर्दा वनजंगल पूरै रित्तो भएको थियो ।” यो दुखेसो हो तिलोत्तमा १ निवासी पदम कुमारी पन्थको । उमेरले ६६ वर्ष हुनुभएकी उहाँ आफै पनि पहिले घरायसी प्रयोजनका लागि चाहिने घाँस दाउराको लागि वनमा जानुहुन्थ्यो । त्यतिबेलाको समय घाँस दाउराकै थियो तर अहिले भने समय केही परिर्वतन भएको छ । घाँस दाउराकै लागि वनमा प्राय मानिसहरु जानु पर्दैन । अर्को कुरा दिदीबहिनीहरु वन संरक्षण उपसमितिमा गठन भैसकेपछि वन मास्न जानेहरुलाई रोक लगाउनुभएको छ । त्यसले गर्दा वन मासिन पाएको छैन ।
यस्तै अनुभव अन्य दिदीबहिनीहरुको पनि छ । दिदीबहिनीहरुको यो कामले आफूलाई खुसी लागेको सोही ठाँउकी खिमकला श्रेष्ठको भनाइ छ । धेरै सर्वसाधारण आफ्नो नजिकको वन हरियाली हुँदा निकै नै खुसी छन् । २०६२ ६३ सालदेखि वन संरक्षणको लागि महिला दिदीबहिनीहरुलाई शंकरनगर सामुदायिक वनले संगठित गरेको छ । पहिले दिदीबहिनीहरु थोरै हुँदा २० देखि २५ जनाको एउटा एउटा समूह बनाएको तर अहिले भने ४० देखि ४५ जनासम्म एक समूहमा रहेको सो वनका अध्यक्ष राम गिरीको भनाइ छ । करिब २०० जना रहेको सो उपसमितिमा चार ओटा समूह रहेको र प्रत्येकमा एक एक जना अध्यक्ष बनेर आ आफ्नो समूहको नेत्तृव गरिरहेका छन् । उनीहरु निकै सक्रिय रहेको र उनीहरुकै भूमिकाले वन संरक्षणमा विशेष टेवा पुगेको उहाँले बताउनुभयो ।
जसरी अहिले उनीहरु खुसी छन् त्यो भन्दा अगाडि वन संरक्षणकै क्रममा उनीहरु भने निकै चिन्तित थिए । सबैको गाली खानु पथ्र्यो । चेतनाको स्तरमा कमी हुनु र घरायसी प्रयोजनमा वनकै भर पर्नुपर्ने बाध्यताले वन मासिने क्रम बढेको शान्ति महिला वन संरक्षण उपसमितिकी अध्यक्ष मिनु थापाको भनाइ छ । हँँसिया वन्चरो खोसी वनमा जान रोक लगाउँदा अरु सर्वसाधारणले निकै नै सराप्ने गरेको र राति पनि घरमै आएर कराउने गरको उहाँले दुख व्यक्त गर्नुभयो ।
“ हामीलाई वनमा जान रोक्ने , तेरो बाउको सम्पत्ति हो र ? भनेर अरुको गाली खानु परेको थियो ।” यो भनाइ हो सिमाना महिला वन संरक्षण उपसमितिकी अध्यक्ष टीकासरा थापाको । “ पहिले वन जोगाउन अति नै गाह्रो भयो तर अहिले भने सबै बुझकार भए त्यसैले सजिलो भएको छ । ” उहाँले बताउनुभयो ।
त्यस्तै तीता मीठा अनुभव मध्यवधि उपसमूहकी अध्यक्ष धनीकला पाण्डेसँग पनि छ । वनमा जानेलाई रोक्न खोज्दा अरुको नराम्रो गाली र भनाइ सुन्नु परेको थियो उहालाई पनि । आफ्नो घरायसी काम छोडेर पनि वन जोगाउँन वनमै गस्ती गरेर बसेको उनलाई सम्झना छ । तर अहिले भने धेरै सजिलो छ उहाले पनि थप्नुभयो् । अहिले धेरै सजिलो हुनुको कारण वनले पनि धेरै नै मिहिनेत गरेको छ । वनको वरिपरि तारबार लगाउने र सर्वसाधारण पस्ने मूल ठाँउमा गेट नै लक गरेको कारण पनि वन जोगिन पाएको छ ।
वन संरक्षण गर्दा वनमा विभिन्न महत्वपूर्ण वनस्पति लगाएत वन्यजन्तुको पनि संरक्षण भएको हुन्छ । तर संरक्षणसँगै सर्वसाधारणलाई अलिकति असुविधा भने भएकै छ । विवाह , पूजा आजा लगायतका काममा पात लिंगो लगायतका वस्तु चाहिन्छ । तर त्यसको लागि वनमा जाँदा सजिलो भने छैन् । विभिन्न झन्झट र असुविधा छ , धेरै जनालाई सोधपुछ गरेपछि बल्ल वनमा जान पाइन्छ , त्यै पनि सोधपुछ गर्नको लागि कहिलेकाहिँ कार्यालयमा कोहि नभेटिने सर्वसाधारणको गुनासो छ ।
पहिले वन्यजन्तुको बासस्थानमा कमी हुदाँ, उनीहरुको आहारामा पनि कमी हुने हुँदा वस्तीमा प्रवेश गरेर बालीनालीसमेत सखाप पार्ने गर्दथे । तर अहिले उनीहरुको बासस्थान व्यापक हुँदा र आहारासमेत बढेको हुनाले बन्यजन्तुको वस्तीमा प्रवेश कम भएको छ ।
सामुदायिक वन , साझेदारी वन , धार्मिक वन र राष्ट्रिय वन गरी रुपन्देहीमा २६५२४।०० हेक्टर क्षेत्रफल वनले ओगटेको छ । रुपन्देही जिल्लामा सामुदायिक वनको संख्या १०२ रहेको छ भने यसको क्षेत्रफल १५९४५।८४ हेक्टर क्षेत्रफल रहेको छ । त्यस्तै १८८२।२४ हेक्टर क्षेत्रफल ओगटेको साझेदारी वनको संख्या मात्र २ वटा रहेको छ । त्यसैगरी २४।०५ हेक्टर क्षेत्रफल ओगटेको धार्मिक वनको संख्या २ छन् भने राष्ट्रिय वनले ८६७१।८७ क्षेत्रफल ओगटेको छ । रुपन्देहीको कूल १५९४५।८४ हेक्टर सामुदायिक वनको क्षेत्रफल मध्य शंकरनगर सामुदायिक वनको ५८४।६० हेक्टर क्षेत्रफल रहेको वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीले बताउनुभयो ।
सो सामुदायिक वनले झाडीहरु सफा गर्ने , चोरी निकासी नियन्त्रण गर्ने , आगलागी नियन्त्रण लगायतका उद्देश्यले महिला दिदीबहिनीहरुलाई उपसमितिमा संगठित गरेको हो । वन र वन्यजन्तुको संरक्षणसँगै उनीहरुलाई विभिन्न तालिम प्रदान गरेर आत्मनिर्भर र आत्मविश्वाश समेत बढाएको अध्यक्ष गिरीले बताउनुभयो । उद्घोषण तालिम , गुडिया बनाउने , सिलाईकटाई लगायतका तालिम दिइएको र आगामी दिनमा सेनेटरी प्याड बनाउने तालिम दिइने उहाले बताउनुभयो ।
रुपन्देहीका अन्य सामुदायिक वनमा भने यसरी दिदीबहिनी सक्रिय भएको भने खासै भेटिएन । करहिया सामुदायिक वनमा केही समय महिलाहरुलाई संगठित गरेको तर अअिले भने काम पर्दाको समयमा मात्र उनीहरुलाई बोलाउने तर अन्य समय भने खासै दुख नदिएको करहिया सामुदायिक वनका अध्यक्ष खेम प्रसाद गौतमले जानकारी दिनुभयो ।
वनको संरक्षणले पर्यावरणमा नै सघाउ पुगेको हुन्छ । विभिन्न वन्यजन्तु , महत्वपूर्ण वनस्पति कीटपतंग लगायतको सन्तुलनलाई कायम राखेको हुन्छ । अहिले बढ्दो ओजोन तहको विनासलाई कम गर्नको लागि पनि वनको महत्व बढि छ । हरेकको अस्तित्व जीवित राख्ने वनलाई कुनै एक सामुदायिक वनले मात्र होइन हामी सबैजना आ आफ्नो स्थानबाट माथि उठेर वन संरक्षणमा जुटियो भने स्वयम हाम्रै अस्तित्व रहने छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij