रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ।

पार्टीले जारी गरेको निर्देशिकाले स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गर्नुपर्ने व्यवस्था गरेको हो।

विपिन कुमार आचार्यद्वारा जारी निर्देशिकाअनुसार सांसदले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। नियुक्ति परिवार वा नातागोताभन्दा बाहिरबाट योग्यता र क्षमताका आधारमा गरिनुपर्ने उल्लेख गरिएको छ।

निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा अनुभव वा दक्षता, प्रविधिमैत्री सोच, अनुसन्धान क्षमता तथा पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, योग्यता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकतामा राख्न सांसदहरूलाई निर्देशन दिइएको छ।

रास्वपाले स्वकीय सचिवले अर्को कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गर्न वा दोहोरो आर्थिक सुविधा लिन नपाउने स्पष्ट व्यवस्था गरेको छ। सांसदको निर्णय वा कार्यसम्पादनमा प्रभाव पार्ने कुनै पनि प्रकारको स्वार्थ बाझिने अवस्था (कन्फ्लिक्ट अफ इन्टरेस्ट) स्वीकार्य नहुने उल्लेख गरिएको छ।

निर्देशनमा स्वकीय सचिव छनोट सार्वजनिक सूचना वा खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। योग्य उम्मेदवार छनोटपछि नियुक्तिका लागि रास्वपा संसदीय दलको अन्तिम स्वीकृति अनिवार्य हुने उल्लेख छ। नियुक्तिसम्बन्धी कुनै विवाद वा उजुरी परे अन्तिम निर्णय गर्ने अधिकार पार्टीमा रहने व्यवस्था पनि गरिएको छ।

पारिश्रमिक र आर्थिक पारदर्शितालाई पनि निर्देशिकाले विशेष जोड दिएको छ। स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कटौती वा आर्थिक हिनामिना गर्न नपाइने र पारिश्रमिक सिधै सचिवकै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नियुक्तिपछि स्वकीय सचिवको व्यक्तिगत विवरण (बायोडाटा) र शैक्षिक योग्यताका प्रमाणपत्र संघीय संसद सचिवालय तथा पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्नेछ। सम्बन्धित सांसदले स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी आवधिक प्रतिवेदन संसदीय दलसमक्ष पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

निर्देशनले स्वकीय सचिवलाई सांसदको कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसदसँग सम्बन्धित संवेदनशील विषयमा पूर्ण गोपनीयता कायम गर्नुपर्ने दायित्व तोकेको छ।

आचारसंहिता उल्लङ्घन, नातेदार नियुक्ति, कागजी रूपमा मात्र सचिव राखेर सुविधा लिने, आर्थिक अनियमितता गर्ने वा गोपनीयता भंग गर्ने कार्य भए पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत कारबाही गरिने उल्लेख गरिएको छ। कार्यसम्पादन सन्तोषजनक नभए, पदीय आचरण विपरीत काम गरे वा गोपनीयता भंग गरे सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई स्वकीय सचिवलाई पदमुक्त गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा समावेश गरिएको छ।

रास्वपाले सबै सांसदले स्वकीय सचिव नियुक्त गर्दा एउटै मापदण्ड अपनाउन सकून् भन्ने उद्देश्यले सार्वजनिक आह्वानका लागि साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा समेत तयार गर्ने जनाएको छ। उक्त ढाँचामार्फत योग्यता, कार्यविवरण र आवेदन प्रक्रिया स्पष्ट रूपमा उल्लेख गरी नियुक्ति प्रक्रिया एकरूप बनाइने पार्टीको भनाइ छ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij