साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना र दर्शनका लागि देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ । विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सबै भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ भने बिहानदेखि भक्तजनको उपस्थिति बाक्लिए पनि लाम अत्यधिक लामो नभएको कोषले जनाएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले साउनका सोमबार दर्शनका लागि आउने लाखौँ भक्तजनलाई सुरक्षित, व्यवस्थित र मर्यादित वातावरणमा पूजा तथा दर्शन गराउने गरी आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए

पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीका अनुसार आज मन्दिरमा आउने सबै श्रद्धालुलाई दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सुविधाका लागि प्राथमिक उपचार, स्वास्थ्य सेवा तथा अन्य आवश्यक व्यवस्थासमेत गरिएको छ ।

पशुपति क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायतका शिव मन्दिर तथा देशभरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले यी दुवै मन्दिरमा दर्शन गर्नुलाई विशेष धार्मिक महत्वका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij