बुटवल, देशका विभिन्न स्थानमा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै बुटवलमा क्रियाशील १२ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
दलहरूले कुनै पनि प्रकारको हिंसा, द्वेष, जातीय तथा साम्प्रदायिक तनाव सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र पाण्डेय राजन, नेपाली कांग्रेसका ज्योति भण्डारी, नेकपा एमाले का शोभाकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका गंगालाल सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका दीपक पौडेल, नेकपा माओवादी का विष्णु प्रसाद बेलवासे, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका मानबहादुर कुँवर, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्ण भट्टराई, जनता समाजवादी पार्टीका दीपक गुरुङ तथा नेपाल कम्युनिष्ट पार्टी बहुमत का तिलक गिरीद्धारा हस्ताक्षर बिहीबार जारी संयुक्त विज्ञप्तिमा हालै सुनसरीसहित देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
राजनीतिक दलहरूले कानुनको सम्मान गर्दै सामाजिक, जातीय तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई अपिल गरेका छन् । विज्ञप्तिमा बुटवल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सहर भएकाले यहाँको सामाजिक एकता र सद्भावलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ । दलहरूले संवाद, सहिष्णुता र एकतालाई नै साझा शक्ति भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण बुटवलवासी नागरिकसँग सहयोगको अपेक्षा गरेका छन् । राजनीतिक दलहरूले शान्ति, सहिष्णुता र सामाजिक एकतालाई सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्