सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरु

सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाण्डौ – १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लट्रीमार्फत उपहार पाउने सरकारी योजना शुरु भएको छ ।

सरकारले हिजोदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ कार्यान्वयनमा ल्याउँदै दैनिक एक लाख र हरेक १५ दिनमा १० लाख रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था शुरु गरेको हो । आन्तरिक राजश्व विभागले यही साउन १ साउनदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ । करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै https://prize.ird.gov.np/ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा विवरण प्रविष्ट गरेपछि ‘उपहार कुपन’ स्वतः उत्पन्न हुनेछ । कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ । विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेस गरी पुरस्कार दाबी गर्न सकिने व्यवस्था गरिएको छ । नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ । नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ । तर, क्युआर कोड वा कार्डमार्फत गरिएको विद्युतीय भुक्तानी स्वतः प्रणालीमा समावेश हुने भएकाले छुट्टै विवरण भर्नुपर्ने छैन ।

सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कले इसेवा, खल्तीलगायत अनुमतिप्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ । आन्तरिक राजश्व विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ ।

जाली, सच्याइएको, दोहोरिएको, झुटा वा अनधिकृत बिल पेस गरेमा प्रविष्टि अस्वीकृत हुने, पुरस्कार कुपन रद्द गरिने, वितरण भइसकेको पुरस्कार फिर्ता असुल गरिने तथा प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ । डिजिटल भुक्तानीबाट प्राप्त हुने पुरस्कार कुपन कोड सम्बन्धित बैंक वा डिजिटल वालेट एपको कारोबार विवरण, सूचना, कुपन वा रिवार्ड सेक्सनमा हेर्न सकिने विभागले जनाएको छ । यसका लागि साउन २१ भित्र सबै भुक्तानी सेवा प्रदायकले आफ्नो एपमार्फत आवश्यक सूचना तथा नोटिफिकेसन उपलब्ध गराउनेछन् । क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र त्यही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले त्यो नम्बर नै उपहारका लागि योग्य हुनेछ ।

उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ । विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ । विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आउँदो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : आइतबार, साउन १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij