बालेनको दाबी: सरकारी संस्थानमा सुधारको लहर, दिए पाँच सरकारी संस्थान सुधारका उदाहरण

बालेनको दाबी: सरकारी संस्थानमा सुधारको लहर, दिए पाँच सरकारी संस्थान सुधारका उदाहरण

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले इमान्दार नेतृत्व र स्पष्ट उद्देश्य भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव हुने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको नेतृत्व सम्हालेपछि विभिन्न सार्वजनिक संस्थानमा देखिएका सकारात्मक परिवर्तनबारे जानकारी दिएका हुन्।

यसअघि शुक्रबार राति भावुक सन्देश लेख्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ उल्लेख गरेका प्रधानमन्त्री शाहले शनिबार भने सरकारले हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन्। उनले वर्षौंदेखि समस्याग्रस्त अवस्थामा रहेका सरकारी उद्योग तथा संस्थानहरू क्रमशः सुधारको बाटोमा अघि बढिरहेको दाबी गरेका छन्।

 

प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान ९डीडीसी० र सिंहदरबार वैद्यखाना विकास समितिमा सुधारका संकेत देखिन थालेका छन्।

उनले वर्षौंदेखि बन्द, घाटामा वा कमजोर व्यवस्थापनका कारण प्रभावित संस्थानहरू पुनर्जीवित हुन सक्छन् भन्नेमा धेरैलाई शंका रहेको स्वीकार गर्दै भनेका छन्, “जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब सुधारका नयाँ ढोका खुल्छन्।”

नेपाल औषधि लिमिटेडमा नाफा

प्रधानमन्त्रीका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्ला चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ ९जिएमपी० मापदण्ड प्राप्त गरेपछि कम्पनीको व्यापार बढेको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको उनले बताए।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ। आगामी तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने योजनाअनुसार यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ।

 

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्योगका उपकरण मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भएको उनले उल्लेख गरेका छन्।

 

नेपाल एयरलाइन्सको आम्दानी वृद्धि

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको प्रधानमन्त्रीको भनाइ छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड रुपैयाँले बढी हो।

यस अवधिमा निगमको ‘सिट अकुपेन्सी’ ८६ प्रतिशत पुगेको छ। साथै जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी किस्ता भुक्तानी गरिएको पनि उनले बताएका छन्।

 

डीडीसीमा किसान भुक्तानी सहज

दुग्ध विकास संस्थानले किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी अवधि ८ महिनाबाट घटाएर २–३ महिनामा सीमित गरेको प्रधानमन्त्री शाहले जनाएका छन्। किसानलाई प्रतिलिटर दूधमा थप १ रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

उनका अनुसार सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ। कर्मचारीलाई दिइँदै आएको घ्यू र दूध सुविधामा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको दाबी पनि उनले गरेका छन्।

 

सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले वृद्धि

प्रधानमन्त्री शाहले सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री गरेको जानकारी दिएका छन्। गत आर्थिक वर्षमा वैद्यखानाको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको, जुन अघिल्लो वर्षको तुलनामा चार गुणा बढी रहेको उनले उल्लेख गरेका छन्।

हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री शाहले इमान्दारिता, कानुनको प्रभावकारी कार्यान्वयन र सामूहिक प्रयासका कारण सकारात्मक नतिजा देखिन थालेको उल्लेख गर्दै अन्य रुग्ण उद्योगहरूलाई पनि पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनले उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सबैको सहयोग र विश्वास आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : शनिबार, साउन २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij