बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

बुटवल-बुटवलमा यही भदौ १ गतेदेखि प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। बुटवल–११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा हुने प्रतियोगितामा रुपन्देहीका ४३ विद्यालयको सहभागिता रहनेछ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो। प्रतियोगिता बुटवल–११ स्थित एन्फा एकेडेमीको खेलमैदानमा भदौ १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३१ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक तथा म्यान अफ द म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले ज्ञानपुञ्जले कम्तीमा एउटा खेललाई प्राथमिकतामा राखेर सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु गरेको बताए। उनले कुनै एउटा खेललाई नियमित रूपमा सञ्चालन गर्दा स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

खेलकुदलाई केवल मनोरञ्जन वा अतिरिक्त क्रियाकलापका रूपमा नभई विद्यार्थीको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण शैक्षिक माध्यमका रूपमा विद्यालयले लिएको प्राचार्य भण्डारीले बताए।

पत्रकार सम्मेलनमा प्राचार्य भण्डारीले २०६२ सालमा स्थापना भएको विद्यालयले नयाँ व्यवस्थापनको सुरुवातसँगै समय, प्रविधि र विद्यार्थीको बदलिँदो आवश्यकताअनुसार शैक्षिक प्रणालीलाई रूपान्तरण गर्ने अभियान अघि बढाएको जानकारी दिए।

विद्यालयले नमुना संसद्, नमुना संयुक्त राष्ट्रसंघ, नमुना न्यायपालिका, ‘गेष्ट अफ द मन्थ’, असल अभिभावक कार्यशाला तथा शिक्षक, विद्यार्थी र विशिष्ट व्यक्तिबीच अन्तरसंवादलगायत नवीन अभ्यासका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।

कार्यक्रममा खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टराई, सहप्राचार्य भीम बस्नेत तथा प्रायोजक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिता भदौ १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij