तिलोत्तमा, रूपन्देहीको मणिग्राममा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आज शुरू भएको छ । अनुसन्धान व्यवस्थापन समिति राममणि बहुमुखी क्याम्पस, मणिग्राम रूपन्देहीले आयोजना गरेको सम्मेलनमा नेपालसहित चार ४ देशका विज्ञहरूको सहभागिता रहेको छ । “ सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू” “उत्कृष्टताको खोजीमा” मूल विषय रहेको सम्मेलनमा नेपाल, भारत र फिलिपिन्सका ३ जना प्राध्यापकहरूले मुख्य वक्ताका रूपमा आज (शनिबार) कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यबाहक रजिष्ट्रार एवम् व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेले अनुसन्धानकै उपयोगबाट अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । सम्मेलनका मुख्य वक्ता समेत रहनुभएका प्राध्यापक चालिसेले व्यवस्थापन संकाय र अन्य संकायका कार्यक्रम अझ बढी अनुसन्धानात्मक बनाउन सकिए नेपाल र नेपालीको भविष्य थप उज्ज्वल हुने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालको अध्यक्षतामा आयोजित सम्मेलनमा अर्का मुख्य वक्ता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा. डा. अनुराग द्विवेदीले वर्तमान उत्तरआधुनिक मानव विकासको सन्तुलनमा समाजशास्त्रीय अनुसन्धान सान्दर्भिक रहेको बताउनुभयो । प्राध्यापक द्विवेदीले प्रविधि, अर्थतन्त्र र भौतिक विकासको सदुपयोग गर्न र सुखी संसार बनाइरहनका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलनका अर्का मुख्य वक्ता फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्यूट अफ साइन्सेज एण्ड टेक्नोलोजी का प्राध्यापक डा. एलेक्सिस ए. एन्रिक्वेज ले हालको कृत्रिम बुद्धिमत्ता (ए.आई.) अवसरसँगै बहुपक्षीय चुनौती लिएर आएको बताउनुभयो । यसको सदुपयोगबाट प्राध्यापक तथा विद्यार्थी लाभान्वित हुने पक्षमा उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा मणिग्राम विश्राम वाटिकामा आयोजित उद्घाटन सत्रमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन पश्चात सञ्चालित विशेषज्ञ समूह छलफल (प्यानल डिस्कसन) का क्रममा सृजनात्मक क्षति, वर्तमान अर्थतन्त्रका चुनौती र अवसर, कृत्रिम बुद्धिमता लगायत विषयमा विज्ञहरूले आफ्ना तर्क प्रस्तुत गर्नुभएको थियो । डा. अशोक भण्डारीको सञ्चालनमा भएको विशेषज्ञ समूह छलफलमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा. डा. अनुराग द्विवेदी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुली र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक डा. रेशम थापाले विज्ञका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलनकै क्रममा सञ्चालित दोस्रो समूह छलफलमा (प्यानल डिस्कसनमा) सरोकारपक्षका विज्ञहरूले स्थानीय उद्योग, व्यवसायबाट पुगेको आर्थिक योगदान एवम् तिनको दिगोपनाका चुनौतीबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभयो । त्यसैगरी, दक्ष जनशक्ति उत्पादनमा सामुदायिक क्याम्पसका योगदान, वर्तमान चुनौती र सम्भावनाबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभयो ।
उपप्राध्यापक कृष्णकुमार रेग्मीको सञ्चालनमा भएको समूह छलफलमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायणप्रसाद भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, शिवगंगा डेरीका सञ्चालक एवम् देवदह नगरपालिकाका पूर्व प्रमुख हिरा बहादुर खत्री, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र एन.आई.सी.एशिया बैंक लुम्बिनी प्रदेश प्रमुख राजन पोखरेलले विज्ञका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
दुवै प्यानल डिस्कसनका (विशेषज्ञ छलफलका) क्रममा उपस्थित प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरूले विज्ञहरूसँग जिज्ञासा राख्नुभएको थियो । त्यस्तै, सम्मेलन सञ्चालनका बीच–बीचमा विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
सो सम्मेलनको दोस्रो दिन (भाद्र ७ गते आइतबार) नेपाल, भारत, फिलिपिन्स र मलेशिया गरी ४ देशका विभिन्न विश्वविद्यालय एवम् क्याम्पसका अनुसन्धानकर्ताका ३३ वटा कार्यपत्र प्रस्तुत गरिने अनुसन्धान व्यवस्थापन समितिका सदस्य राजेन्द्र थापाले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका दिनमा विभिन्न क्याम्पस तथा विश्वविद्यालयका २१८ जनाको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले उल्लेख गर्नुुभयो ।
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्