बुटवल -पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिरले आयोजना गरेको श्रावणी धार्मिक जलार्पण कार्यक्रममा ऐतिहासिक सहभागिता देखिएको छ। सिद्धबाबा मन्दिर विकास समितिका अनुसार श्रावणी मेलाअन्तर्गत हालसम्म चारवटा जलार्पण यात्रा सम्पन्न भएका छन्।चारवटै धार्मिक जलार्पण यात्रामा चार हजारभन्दा बढी दर्शनार्थीले प्रत्यक्ष सहभागिता जनाएका छन्। यस्तै, मन्दिरमै उपस्थित भएर हालसम्म करिब १० हजार भक्तजनले प्रत्यक्ष रूपमा जलार्पण तथा दर्शन गरेको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द पाण्डेले जानकारी दिनुभयो।
समितिका उपाध्यक्ष एवं यात्रा संयोजक शेरजंग थापाका अनुसार पहिलो जलार्पण यात्रा सिद्धसरोवर अर्थात् भूतखोलाबाट सिद्धबाबा मन्दिरसम्म जल ल्याएर जलार्पण गरिएको थियो। त्यसैगरी साउन २१ गते रिडी क्षेत्रबाट सिद्धबाबा मन्दिरसम्म जल ल्याएर जलार्पण गरिएको थियो।त्यसैगरि त्रिवेणीबाट जल ल्याएर सिद्धबाबा मन्दिरमा अर्पण गर्ने कार्यक्रम पनि सम्पन्न भएको छ। भदौ ७ गते एकादशीका दिन देवघाटबाट सिद्धबाबा मन्दिरसम्म जल ल्याएर जलार्पण गरिएको समितिका उपाध्यक्ष एवं यात्रा संयोजक थापाले बताउनुभयो। उक्त कार्यक्रममा मात्रै पाँच सयभन्दा बढी दर्शनार्थी सहभागी भएका थिए।
जलार्पण यात्राका लागि पाल्पा जिल्लाका विभिन्न क्षेत्रबाट चारवटा, तिनाउ गाउँपालिकाबाट चारवटा, रुपन्देहीबाट चारवटा, सिद्धबाबा मन्दिर विकास समितिको तर्फबाट एकवटा र तानसेन नगरपालिकाको तर्फबाट एउटा गरी कुल १४ वटा बस सञ्चालन गरिएको यात्रा संयोजक थापाले जानकारी दिनुभयो।सिद्धबाबा मन्दिर विकास समितिका कोषाध्यक्ष तोया लम्सालका अनुसार यस वर्षको जलार्पण यात्रा अहिलेसम्मकै ऐतिहासिक सहभागिता भएको छ। उहाँका अनुसार विगत आठ वर्षदेखि सिद्धबाबा मन्दिरमा श्रावणी जलार्पण कार्यक्रम सञ्चालन हुँदै आएको छ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमिका रूपमा रहेको सिद्धबाबा क्षेत्र पश्चिम नेपालकै पशुपतिनाथका रूपमा समेत विकास हुँदै गएको छ। पुरातात्त्विक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस मन्दिरमा साउन महिनाभरि शिव भगवान्लाई जल चढाउन भक्तजनको ठूलो भीड लाग्ने गरेको छ। विशेषगरी साउनका सोमबार र शनिबार मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। भक्तजनको सहजताका लागि मन्दिर व्यवस्थापनले निःशुल्क बस सेवा समेत सञ्चालन गरेको छ।
सिद्धबाबा मन्दिरमा साउन १३ गतेदेखि भदौ ७ गतेसम्म श्रावणी मेला तथा जलार्पण कार्यक्रम सञ्चालन भएको थियो। जलार्पण यात्रामा मन्दिरका मूल पुरोहित नारायणप्रसाद घिमिरे, सहायक मूल पुरोहित पुरुषोत्तम बस्याल लगायत मन्दिर विकास समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। श्रावणी मेला तथा बिशेष धार्मिक पुजाअर्चना कार्यक्रम भदौ १२ गते सम्म चल्ने समितिले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्