लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणले गति लिँदै, बजेट अभावमा भुक्तानी रोकिँदा चुनौती

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणले गति लिँदै, बजेट अभावमा भुक्तानी रोकिँदा चुनौती

बुटवल – लुम्बिनी प्रदेशको गौरव आयोजनाका रूपमा अघि बढाइएको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणले गति लिएको छ। निर्माणाधीन अस्पतालको भौतिक प्रगति ४५ प्रतिशत पुगे पनि बजेट अभावका कारण भुक्तानी व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छबिराज पोखरेलका अनुसार निर्माणको काम अपेक्षाकृत तीव्र गतिमा अघि बढिरहेको छ। करिब ७ हजार ७ सय वर्गमिटर क्षेत्रफलमा मुख्य अस्पताल र क्यान्सर अस्पतालका दुई ठूला संरचना निर्माण भइरहेका छन्।

आयोजनाअन्तर्गत १० तल्ला र दुई तहको बेसमेन्टसहित ७सय शैय्याको मुख्य अस्पताल भवन निर्माण हुँदैछ। त्यस्तै, पाँचतल्ला र एक तहको बेसमेन्टसहित १सय शैय्याको क्यान्सर अस्पताल निर्माण भइरहेको छ।

मुख्य भवनमा अहिले बेसमेन्ट, जग तथा माथिल्ला तल्लाको ढलानको काम भइरहेको पोखरेलले बताए। दुवै भवनको निर्माणलाई समानान्तर रूपमा अघि बढाइएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रबाट छनोट भएको निर्माण कम्पनी क्यापासाइत–आशिष् रेलिगेशन जेभीसँग २०८० पुस २६ गते पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब १५ करोड १४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

निर्माणको गुणस्तर तथा प्राविधिक पक्षको निगरानीका लागि काठमाडौँ विश्वविद्यालयअन्तर्गतको टोलीलाई जी–टु–जी माध्यमबाट सुपरिवेक्षण कन्सल्टेन्टकारूपमा परिचालन गरिएको छ।

निर्माणको गति बढिरहे पनि आयोजनाको वित्तीय प्रगति भने त्यसअनुसार हुन सकेको छैन। हालसम्म वित्तीय प्रगति करिब २७.३३ प्रतिशत अर्थात् २ अर्ब ९ करोड रुपैयाँ हाराहारी मात्रै रहेको पोखरेलले जानकारी दिए।

प्रदेश सरकारले सम्झौताअनुसार आवश्यक बजेट नियमित रूपमा उपलब्ध गराउन नसक्दा निर्माण कम्पनीको भुक्तानी दायित्व बढ्दै गएको छ। चालु आर्थिक वर्षमा विनियोजन गरिएको १ अर्ब रुपैयाँमध्ये ८५ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षको बक्यौता भुक्तानीमै खर्च भएको छ।

यसले चालु निर्माणको बिल भुक्तानीमा थप दबाब सिर्जना गरेको छ। समयमै बिल भुक्तानी हुन नसकेपछि निर्माण कम्पनीले आफ्नै स्रोत र उधारोको भरमा कामलाई निरन्तरता दिइरहेको प्राधिकरणले जनाएको छ।

पोखरेलका अनुसार आवश्यक बजेट समयमै उपलब्ध गराएर निर्माण कम्पनीको भुक्तानी सहज बनाउने हो भने तोकिएको पाँच वर्षको अवधिभन्दा अगावै अस्पताल निर्माण सम्पन्न गर्न सकिने सम्भावना छ।

अत्याधुनिक संरचना र स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधारसहित निर्माण भइरहेको यो अस्पताल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश तथा आसपासका जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij