काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ। बैठक ‘हामी तयार छौँ’ अभियानमा केन्द्रित हुनेछ ।
सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिको बैठकमा अभियानको प्रभावकारिता, नेताहरूको जिम्मेवारी र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले स्थानीय तह निर्वाचन केन्द्रित अभियानअन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव बैठकमा समेटिने जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले अभियान सञ्चालनका विषयमा आफ्नो धारणा राख्नेछन्। उनीहरूले अभियानमा निर्वाह गर्न चाहेको भूमिका, जिम्मेवारी र कार्यक्षेत्रका विषयमा समेत छलफल हुनेछ।
दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठकमा अभियानलाई प्रभावकारी बनाउने कार्ययोजना र केन्द्रीय नेताहरूको परिचालनका विषयले प्राथमिकता पाउने बताइएको छ। कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी र पार्टी संगठन सुदृढीकरणका लागि मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिरहेको छ।
१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार मंसिर महिनाभर सञ्चालन हुने अभियानलाई वडा तहसम्म विस्तार गरिएको छ।
अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्ता परिचालन गर्ने कांग्रेसको लक्ष्य छ।
प्रकाशित मिति : मंगलबार, मंसिर ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्