रुपन्देही र दोलखा बिचको व्यावसायिक साझेदारीका सम्भावनाबारे छलफल

रुपन्देही र दोलखा बिचको व्यावसायिक साझेदारीका सम्भावनाबारे छलफल

बुटवल, संस्थागत विकास, व्यावसायिक हकहित र औद्योगिक तथा आर्थिक विकासका अनुभव आदानप्रदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही र दोलखा उद्योग वाणिज्य संघबीच छलफल भएको छ ।

बुटवल उद्योग वाणिज्य संघमा आएको दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै आयोजित कार्यक्रममा दुवै जिल्लाबीच औद्योगिक तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे पनि छलफल गरिएको थियो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले संघलाई भ्रमणको गन्तव्यका रूपमा छनोट गरेकोमा खुसी व्यक्त गर्दै संघको स्थापना, संस्थागत विकास र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे जानकारी गराए ।

उनले २००९ सालमा तदर्थ समिति गठन भई २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले सुरुवातदेखि नै व्यवसायीको हकहित संरक्षणसँगै यस क्षेत्रको औद्योगिक, व्यावसायिक, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको विकासमा योगदान गर्दै आएको बताए ।

संघकै पहलमा लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना हुनुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति गृहसहित क्याबिन निर्माण र बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण गरिएको उनले बताए । त्यस्तै, बुटवल औद्योगिक क्षेत्र स्थापनाका लागि पहल, आन्तरिक राजस्व कार्यालय तथा इलाका प्रहरी कार्यालय स्थापनामा सहजीकरण र शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी बिट निर्माणमा सहयोग गरिएको जानकारी गराए ।

उनले संघकै पहलमा ठूलो क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै यसको निर्माण कार्य भने अझै सुरु हुन नसकेको बताए ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापाले संस्थागत विकास र कार्यसम्पादनका अनुभव सिक्ने उद्देश्यले भ्रमणमा आएको बताए । २०३२ सालमा स्थापना भएको दोलखा उद्योग वाणिज्य संघको कार्यक्षेत्र र उद्देश्य पनि बुटवल उद्योग वाणिज्य संघसँग मिल्दोजुल्दो रहेको उनको भनाइ थियो ।

उनले दोलखामा पर्यटन, जलविद्युत्, कृषि लगायतका उत्पादनमा सम्भावना रहेको जानकारी गराउँदै मुख्य रुपमा किवि तथा परम्परागत खाद्यान्न बालीको उत्पादन र प्रवर्द्धनमा समेत जोड दिए । काठमाडौँ र चीनबीचको दूरी घटाउने उद्देश्यले दोलखाबाट नाका सञ्चालनका लागि पहल भइरहेको र सडकको ट्र्याक खोल्न अब करिब पाँच किलोमिटर मात्र बाँकी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले औद्योगिक तथा व्यावसायिक विकासका लागि व्यवसायीबीच एकता र सहकार्य आवश्यक रहेको बताए । ठूला व्यावसायिक घरानासँगै साना तथा मझौला उद्योग व्यवसायको विकास र प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । महासंघमा समेत साना तथा मझौला व्यवसायीका सवालमा पहल र पैरवी गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार तथा पूर्वअध्यक्ष रामेश्वर मानन्धर, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई र महासचिव वसन्त ढकाललगायतले दुई संघबीच अनुभव आदानप्रदान र सहकार्यको आवश्यकता औँल्याएका थिए ।

छलफलमा व्यवसायीले भोगिरहेका समस्या, तिनको समाधानका प्रयास, संघको संस्थागत सुदृढीकरण तथा दुवै जिल्लाबीच हुन सक्ने औद्योगिक र व्यावसायिक साझेदारीका विषय उठाइएको थियो ।

 

 

 

 

 

 

प्रकाशित मिति : शनिबार, मंसिर ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij