औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

औद्योगिक व्यापार मेला : स्थानीय उत्पादनमा दर्शकको आकर्षण

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीय उत्पादनका स्टल दर्शकको आकर्षण बनेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शनी तथा बजारीकरणलाई प्राथमिकता दिँदै राखिएका स्टलमा अवलोकनकर्ताको चासो बढेको हो ।

तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ गतेदेखि सुरु गरिएको मेलामा तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनका २६ वटा स्टल राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला आयोजक मुल समितिका सहसंयोजक सुरज पंगेनीले जानकारी दिए । ती स्टलमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री, हस्तकला, खाद्यान्न, खेलौना, अचारलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र साना तथा घरेलु उद्यमीलाई व्यावसायिक अवसर उपलब्ध गराउने उद्देश्यले राखिएका स्टलमा दर्शकले रुचिपूर्वक अवलोकन तथा खरिद गर्ने गरेका छन् । शनिबार सार्वजनिक बिदा परेकाले मेलामा दर्शकको उपस्थिति थप बढेको थियो । दर्शकको बढ्दो चहलपहलले आयोजकसँगै स्टल धनीलाई समेत उत्साहित बनाएको संघका अध्यक्ष एवम् मेला आयोजक मुल समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।

मेलालाई मनोरञ्जनात्मक बनाउन शनिबार विभिन्न सांगीतिक कार्यक्रम गरिएको छ । गायक तथा गायिकाहरु रमेशराज भट्टराई, घनश्याम रिजाल, प्रचण्ड जिसी, रितु शाही र समीक्षा गैरेसँगै एभरग्रिन टर्टलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

यसैगरी मेलामा दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र तिलोत्तमा सिङ्गिङ आइडलसमेत सुरु भएका छन् ।

त्यसैगरी मेलामा कराते प्रतियोगिता पनि सुरु भएको छ । जापान गोजु रियो कराते डो मिसन संघ तिलोत्तमाको आयोजनामा भएको अन्तरविद्यालय चौंथो मिसन गोजुरियो कराते इन्टर जोडो जिल्ला स्तरिय कराते प्रतियोगितामा २१ बिद्यालयका १९५ जना विद्यार्थी सहभागी रहेको जापान गोजु रियो कराते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक सियान केवि रानाले बताए । प्रतियोगिता भोली आइतबार समापन हुनेछ ।

यी प्रतियोगिताले स्थानीय प्रतिभालाई मञ्च प्रदान गर्नुका साथै मेलाको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

यो मेला समग्र तिलोत्तमामा आयोजना गरिएको नवौं औद्योगिक व्यापार मेला हो भने तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको चौंथो औद्योगिक व्यापार मेला हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी स् दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजित मेलामा उद्योग, व्यापार, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी गरी करिब ३२५ स्टल रहेका छन् ।

१४ दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास, नयाँ प्रविधिको जानकारी तथा व्यापारिक गतिविधि विस्तारलाई मेलाले प्राथमिकता दिएको छ ।

 

 

 

 

प्रकाशित मिति : शनिबार, मंसिर ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij