बुटवल । बुटवलमा निजी क्षेत्रको प्रयासले फोहरबाट मोहर बनाउने योजनाले मूर्त रुप पाएको छ । फोहोर व्यवस्थापनलाई चुनौतीका रूपमा लिइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर र गाईवस्तुको गोबर प्रशोधन गरी जैविक मल उत्पादन गर्न थालिएको हो । बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोष्टले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै जैविक मल उत्पादनको काम गरेका छ ।
रामनगर सामुदायिक वन बुटवल १० को संरक्षणमा रहेको राष्ट्रिय अनुसन्धान वन क्षेत्रमा स्थापना गरिएको यो आयोजनाले मल उत्पदान गरेर व्यवसायिक नमूना मात्रै प्रस्तुत गरेको छैन बुटवल तथा तिलोत्तमा लगायत क्षेत्रबाट निस्किने शौचालयको फोहरलाई उचित व्यवस्थापन समेत गरेको छ । बुटवलको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले कृषि प्रयोजनका लागि उपयोगी जैविक मल उत्पादन गरिरहेको छ । कम्पनीले घरघरका शौचालयबाट संकलन हुने फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ । मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ । त्यसमा वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने इएम मिसाएर करिब ४५ दिनसम्म कुहाउने प्रक्रिया अपनाइन्छ । यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।
नेपाल बायो कम्पोष्टका अध्यक्ष यामबहादुर थापाका अनुसार पछिल्लो एक वर्षदेखि कम्पनीले मासिक करिब १० टन जैविक मल उत्पादन गरिरहेको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण हुँदै आएको छ । यसले रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीले दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको जनाएको छ । यसका लागि रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि काम सुरु गरिएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो । तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो । पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्टसमेत निर्माण गरिएको छ ।
अध्यक्ष थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । लकडाउनका कारण परियोजना सञ्चालनमा विभिन्न समस्या आए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको छ । यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ अभ्यास सुरु भएको उनको भनाइ छ । यस परियोजनाले जैविक मल उत्पादनसँगै वन संरक्षणमा समेत योगदान पु¥याएको छ । वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने र आगलागीको जोखिम बढाउने गतिविधि नियन्त्रण गर्न सहयोग पुगेको बताइएको छ । वन क्षेत्रमा संकलित जैविक पदार्थलाई समेत उपयोग गर्दै मल उत्पादन गरिएकाले फोहोरको पुनःप्रयोग र वन संरक्षणलाई एकसाथ अघि बढाइएको छ ।
यद्यपि, परियोजना सञ्चालनमा नीतिगत तथा कानुनी समस्या भने कायमै छन् । राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा भोगाधिकार तथा जग्गा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा दीर्घकालीन सञ्चालनमा चुनौती देखिएको छ ।
स्थानीय सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता उद्योगलाई नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक देखिएको छ । फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्न सकिने उदाहरणका रूपमा नेपाल बायो कम्पोष्टको यो प्रयासलाई लिन सकिन्छ । उचित सरकारी नीति, प्राविधिक सहयोग र बजार व्यवस्थापन हुन सके यस्ता परियोजनाले सहरी फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षण, रोजगारी सिर्जना र दिगो कृषि प्रणालीमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्