प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए ।

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए । गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने बताए ।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए । गृहमन्त्री गुरुङले भने, “हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।

उनले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए । गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिए ।

उनले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे । “नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ”, गृहमन्त्री गुरुङले भने ।

उनले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिए । नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए ।

उनले भने, “नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ । अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्य सम्पादन गर्नुहोला ।” उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले भने, “गत भदौ १० गते रसुवाको भोटेकोशी र त्यसपछि मनाङ, मुस्ताङ तथा बूढीगण्डकीको बाढीलगायतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा पनि अविचलित रही उद्धारमा खटिएर प्रहरीले देखाएको साहसको मैले उच्च मूल्याङ्कन गरेको छु ।”

 

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij