बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ६१ वर्षीय खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । खानलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको भर्त्सना गरेको छ ।
आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ । संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै अभियानले उनलाई निःसर्त रिहा गर्न माग गरेको छ
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्