विश्वज्योति सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

विश्वज्योति सहकारीको २४औँ वार्षिक साधारणसभा सम्पन्न

 

बुटवल-बुटवल–४ मा अवस्थित विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रेवन्तबहादुर विश्वकर्माको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अमृता विकको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य अमृता विकले सहकारी संस्थाहरू समाजको आर्थिक मेरुदण्ड भएको बताउनुभयो। उहाँले नागरिकले आफ्नो पसिना र मेहनतबाट आर्जन गरेको रकम सहकारीमा बचत गर्ने भएकाले त्यसको संरक्षण, सुरक्षा र व्यवस्थित सञ्चालन गर्नु सम्बन्धित पदाधिकारीहरूको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो।

सांसद विकले सहकारीमा जम्मा गरिएको बचत सामान्य रकम मात्र नभई त्यससँग बालबालिकाको भविष्य, किसान तथा साना व्यवसायीका सपना जोडिएको बताउनुभयो। किसानहरूले सहुलियत ब्याजदरमा ऋण लिएर कृषि तथा व्यावसायिक गतिविधि अगाडि बढाउन खोजिरहेको उल्लेख गर्दै उहाँले यसमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले विश्वज्योति सहकारीले आगामी दिनमा पनि नागरिकको विश्वास कायम राख्दै समुदायको आर्थिक सशक्तीकरण र सुलभ सेवा विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

साधारणसभामा संस्थापक अध्यक्ष सीताराम रसाइलीले संस्था स्थापनादेखि हालसम्म विभिन्न व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै सहकारीको २४ वर्षे यात्रा महत्त्वपूर्ण रहेको बताउनुभयो।

संस्थाका अध्यक्ष रेवन्तबहादुर विश्वकर्माले सदस्यहरूको विश्वास, सहयोग र पदाधिकारीहरूको निरन्तर प्रयासका कारण सहकारीले २४ वर्षको यात्रा पूरा गर्न सफल भएको बताउनुभयो। उहाँले बदलिँदो आर्थिक परिस्थितिका बाबजुद संस्थाले वित्तीय अनुशासन कायम गर्दै सदस्यको बचत सुरक्षित राख्ने र प्रभावकारी सेवा प्रदान गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभयो। आगामी दिनमा सहकारीको संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष हेमबहादुर विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हरिबहादुर सुनार, सेयर सदस्य जुद्ध विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले कठिन परिस्थितिका बाबजुद संस्थाले २४औँ वार्षिक साधारणसभा सम्पन्न गर्न सफल हुनु पदाधिकारीहरूको क्षमता, समर्पण र त्यागको परिणाम भएको बताउनुभयो।

साधारणसभामा अध्यक्ष रेवन्तबहादुर विश्वकर्माले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, सचिव गोकुल विश्वकर्माले सचिवको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका तर्फबाट मनिका दर्नालले प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी घतानेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल नाराका साथ २०५९ सालमा स्थापना भएको सहकारीको हाल सेयर पुँजी १ करोड २७ लाख १८ हजार १०० रुपैयाँ रहेको छ। संस्थाले सेयर सदस्यहरूलाई ८ करोड ३३ लाख ४३ हजार १७२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल निक्षेप बचत ११ करोड २७ लाख ३१ हजार ५८१ रुपैयाँ रहेको छ।

बुटवललाई कार्यक्षेत्र बनाएर सञ्चालन हुँदै आएको सहकारीमा हालसम्म ९५२ जना सेयर सदस्य आबद्ध रहेका छन् भने बाल बचतकर्ताको सङ्ख्या ७३ रहेको छ।

सहकारीले पछाडि पारिएका वर्ग तथा समुदायको नेतृत्व विकास र व्यवस्थापनका क्षेत्रमा समेत काम गर्दै आएको छ। साधारणसभाको अवसरमा संस्थाले नियमित बचत गर्ने सदस्य, असल ऋणी तथा कक्षा १२ उत्तीर्ण गर्ने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चोमबहादुर विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव गोकुल विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।

प्रकाशित मिति : मंगलबार, कार्तिक १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij