काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको भन्दै फैलाइएको हल्लाप्रति कडा आपत्ति जनाएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकार विधिको शासनभन्दा पनि सनक र राजनीतिक प्रतिशोधका आधारमा चलेको आरोप लगाए
“विधिको शासन भएको भए प्रश्न गर्न सकिन्थ्यो—किन गिरफ्तार गर्ने ? कुन अपराधमा ? कुन कानुनी आधारमा ? तर जब विधिको होइन, सनकको शासन चल्छ, तब के जवाफ दिने ? बिनापक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गर्ने शासनमा के हुन्छ र के हुँदैन भनेर कसरी भन्ने ?,” उनले लेखेका छन् ।
उनले प्रश्नको कठघरामा आफूहरू नभई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने जिकिर गरेका छन् ।
“विधिको शासन भएको भए यतिबेला अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति हुन्—प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन,” उनको भनाइ छ ।
उनले अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि नै दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको भन्दै प्रश्न उठाएका छन् ।
“प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने होइन ? अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो ? कुन कानुनी अधिकारले ? कसको निर्देशनमा ? के लुकाउन खोजिएको थियो ? के मेटाउन खोजिएको थियो ? र कसलाई जोगाउन खोजिएको थियो ?,” उनको प्रश्न छ ।
उनले बिचौलियासँग प्रधानमन्त्री र सचिवालयको सम्बन्धबारे स्पष्ट पार्न सरकारलाई चुनौती दिएका छन् ।
नले गिरफ्तारीको हल्लाले प्रश्न नदबिने बताए । “गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन । सत्ताको आडले सत्य लुक्दैन । हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ,” उनले लेखेका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्