काठमाडौं , राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुने भएको छ । सहकारीमार्फत विश्वमा शान्ति, सामाजिक सद्भाव र आर्थिक विकासको सन्देश फैलाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार विश्वमा दिगो शान्ति कायम गर्न न्याय, समानता, सबैलाई समान अवसर र आर्थिक पहुँच आवश्यक छ । आपसी सहयोग, लोकतान्त्रिक सहभागिता र समानताको आधारमा सञ्चालन हुने सहकारीले समाजमा शान्ति र विकास ल्याउन सहयोग गर्ने भएकाले लुम्बिनीमा सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा सहभागी हुन देशभित्र र विदेशमा रहेका सहकारीकर्मीलाई सदस्य संघहरूमार्फत आग्रह गरिएको छ । हालसम्म सम्मेलनमा सहभागी हुन धेरैले नाम दर्ता गराइसकेको र करिब ६५० जनाको सहभागिता रहने आयोजकको अनुमान छ । इच्छुक सहकारीकर्मीलाई समयमै नाम दर्ता गरी आफ्नो स्थान सुरक्षित गर्न महासंघले आग्रह गरेको छ ।
पछिल्लो समय केही सहकारी संस्थाले सदस्यको बचत रकम हिनामिना गरेका घटनाले समग्र सहकारी क्षेत्रप्रति नै अविश्वास बढेको छ । यही समस्यालाई ध्यानमा राखेर सम्मेलनमा सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गरिने कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए ।
उनका अनुसार सम्मेलनमा विदेशका सहकारी संस्थाले अपनाएका राम्रा अभ्यासबारे पनि छलफल हुनेछ । त्यस्ता अभ्यासलाई नेपालमा लागू गर्न सके सहकारी क्षेत्रलाई अझ व्यवस्थित र विश्वासिलो बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ आईसीए एसिया प्यासिफिकका अध्यक्ष डा। चन्द्रपाल सिंह यादवसहित विभिन्न देशका सहकारी क्षेत्रका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
सहकारीको दीर्घकालीन सञ्चालन, आर्थिक स्रोतको व्यवस्थापन, पुँजी परिचालन र नयाँ प्रविधिको प्रयोगबारे सम्मेलनमा कार्यपत्र प्रस्तुत गरिनेछ । साथै, स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि तथा सहकारी क्षेत्रका अगुवाबीच छलफल हुनेछ । यसबाट सहकारी क्षेत्रमा देखिएका नीतिगत अन्योल र व्यावहारिक समस्या समाधान गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
सम्मेलनमा शान्ति स्थापनामा सहकारीको भूमिका, आर्थिक समानता, युवा तथा महिला नेतृत्व, जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास, डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा छलफल हुनेछ ।
विज्ञान र प्रविधिमा धेरै विकास भए पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातावरणीय समस्या अझै कायम छन् । यस्तो अवस्थामा सहकारीमार्फत सबैलाई आर्थिक अवसर उपलब्ध गराउने, सामाजिक सम्बन्ध बलियो बनाउने र समान विकासको वातावरण तयार गर्ने विषयमा सम्मेलनले जोड दिनेछ ।
सम्मेलनबाट सहकारीमार्फत शान्ति स्थापनाका लागि लुम्बिनी घोषणापत्र जारी गर्ने योजना छ । त्यसैगरी सम्मेलनमा भएका छलफल समेटेर प्रतिवेदन तयार गर्ने र सरकार तथा अन्तर्राष्ट्रिय सहकारी संस्थालाई आवश्यक सुझाव दिने तयारी गरिएको छ ।
विभिन्न देशका सहकारी संस्थाबीच सम्बन्ध विस्तार गर्ने, युवा सहकार्य सञ्जाल बनाउने र विश्व सहकारी शान्ति मञ्च स्थापना गर्न पहल गर्ने विषय पनि सम्मेलनको योजनामा समावेश छन् ।
सम्मेलनले सहकारी क्षेत्रले शान्ति र सामाजिक विकासमा पुर्याउन सक्ने योगदानबारे विश्वभर जानकारी फैलाउन सहयोग गर्ने आयोजकको विश्वास छ । जलवायु परिवर्तन, नयाँ प्रविधि र सहकारी सञ्चालनका सफल अभ्यासबारे अनुभव आदानप्रदान गर्नुका साथै विभिन्न देशबीच संयुक्त परियोजना सञ्चालन गर्न पनि सम्मेलनले बाटो खोल्ने अपेक्षा गरिएको छ ।
नेपालमा सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन, बजारीकरण, कृषि, वित्तीय सेवा र व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्ने विषय पनि सम्मेलनमा उठाइनेछ । विदेशका सफल अभ्यास नेपालमा लागू गरेर देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित बनाउन प्रस्तावित सहकारी प्राधिकरणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन पनि सम्मेलनले सहयोग गर्ने आयोजकको अपेक्षा छ ।
सहकारीलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी रोजगारी, आर्थिक विकास, सामाजिक सद्भाव र विश्व शान्तिमा योगदान गर्ने माध्यमका रूपमा अघि बढाउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । लुम्बिनीमा हुने सम्मेलनले नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र विदेशी सहकारी संस्थासँग सहकार्य बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्