‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानै छ । पसिना बगाएर पैसा उमार्नेहरू तिनै मिहिनेती मानिस हुन् । त्यसो त सफलता एकैपटक हात पर्दैन ।
यसका लागि संघर्ष पनि उत्तिकै गर्नुपर्छ । मिहिनेत,परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता पाउनेका आ–आफ्नै कथा छन् । जुन अरूका लागि प्रेरणाको स्रोतसमेत बनिरहेका हुन्छन् । यस्तै कृष्ण तिवारी एक प्रेरणादायि ब्यक्ती हुन कामलाई सानो–ठूलो नभनी निरन्तर मिहिनेत गर्ने हो भने जीवनमा एकदिन अवश्य सफल भइन्छ भन्ने सन्देश उनले दिएका छन् ।
चिसो मौसम सडक छेउमै एक सामान्य ठेला, उनि मम बनाउन र आएका ग्राहकलाइ सेवा दिन ब्यस्थ थिए । उनि संग स्टोभ , मःमःको भाँडा र चट्नी राख्ने भाडो र अर्को तर्फ पिउने पानी र ग्यास सिलिण्डर जस्ता सामान्य लगानी रहेको छ ।कृष्ण तिवारीको कथा प्रेरणादायी छ र, त्यति नै धेरै ठेलावालाको आम्दानी रहेको छ
भैरहवाका स्थानीय कृष्ण तिवारीको पण्डित मम पसल स्वाद र दररेटले चर्चित छ । खसीको मम १ सय रुपैयां प्लेटमा बेच्ने उनको पसलमा दैनिक ३ सय प्लेटभन्दा बढीको व्यापार हुन्छ । हंसिला स्वभावका कृष्ण खुसी हुंदै ग्राहकलाई मम दिन्छन् ।

मःमः खानेको भिड
भैरहवाकै एक पसलमा काम गर्ने उनले आफनै केही व्यसाय गर्न पाए हुन्थ्यो भन्ने सोंचले मम पसल सुरु गरेका थिए । ३८ वर्षदेखि ममको व्यापार गरेका उनले सटरबाट थालेको व्यापार ठेलामा सरेपनि गुणस्तर र ग्राहक संख्या घटेको छैन । भाडामा बसेर उनले व्यवसाय सुरु गरे । भैरहवास्थित वाणिज्य बैंक भएको भवनको तलपट्टी सटरमा उनको पसल थियो । २८ वर्ष उनले त्यहीं मम बेचे । पछि त्यो घर भत्काइयो र उनी सर्न बाध्य भए । ग्राहकको साथ र आफ्नो व्यवसायको सन्तुष्टीले नजिकै उनले महिनाको १० हजार रुपैयां भाडा तिर्नेगरी खाली जग्गा भाडामा लिएर ठेला थापेका छन् । हाल उनको आफनै घर छ ।
सानै उमेरमा बुवा गुमाएका तिवारीले मिहिनेत र संघर्षको यात्राले यत्तीको स्थानसम्म ल्याएको बताए । कसैसंग रुखो नबोली, हांसेर गुणस्तरीय मम बेचिरहेकाले व्यापार टिकिरहेको छ, उनले भने । मिहिनेत र लगनशीलता भए हर क्षेत्रमा सफलता पाउन सकिने उनले बताए । अहिले खासै प्रयोगमा नरहेको स्टोभमा तेल राखेर बालेपछि त्यो स्टोभ मम नभ्याउन्जेल निभाउनै पर्दैन । ग्राहकको लर्को हुन्छ । कतिपयले पर्खिएरै बस्छन् । एक प्लेटमा १४ पिस ममको साथमा सुप र टमाटरको झोलीलो चटनी टपरीमा दिने गर्दछन् । साथमा उमालेको चाउमिन राखेर मम खाने ग्राहक पनि छन् ।
उमालेको चाउमिनलाई लसुनमा फुराएर भुटेपछि चटनी र ममको साथमा मिठो मानेर खाने गरेको कृष्णले बताए । तिवारीको व्यवसायमा छोरा अभिषेक र घरका सबै सदस्यको साथ छ । श्रीमती र दुई कर्मचारीले घरमा मम बनाउंछन् भने अभिषेक मम पसलसम्म ल्याउने र पसलमा बुवालाई सघाउने गर्छन् ।

कृष्ण तिवारीका छोरा अभिषेक बुवालाइ सघाउदै
घर र हालको पसल नजिकै रहेकाले ठेला र सामान ल्याउन सहज भएको छ । दैनिक कृष्णको पसलमा १६ किलो टमाटरको चटनी, १७ किलो मैदा र १० किलो खसीको मासु खपत हुन्छ । उनले सुरुवात गर्दा भैरहवामा थोरै होटल संचालित थिए । अहिले प्रतिष्पर्धा र संख्या बढेपनि उनका ग्राहक टाढिएका छैनन् । जेठा छोरा अभिषेक १२ कक्षामा पढ्दै छन् । बिहानी कक्षा सकाएर बुवालाई सघाउन पसलमा आउंछन् । अन्य दुई छोरा र एक छोरी विद्यालय तहमा पढ्दैछन् । तिवारी परिवार यो व्यवसायबाट खुसी छ । कुनैबेला छोराछोरी बिरामी हुंदा होस् या आफुलाई औषधी गर्नपर्दा अन्यत्र हात थाप्न नपरेकामै आफु खुसी भएको कृष्णले बताए । उनि भन्छन इमानदारिता निरन्तरको मिहिनेत र संघर्षले नै लामो समय देखि यस पेशामा आबद्ध छ’
चन्द्रभान बानियां धकधईबाट भैरहवा आउंदा हरेकपटक तिवारीको मम पसलमै खाजा खान्छन् । अन्त जानै मन लाग्दैन, सफा र मिठो हुन्छ, त्यसैले यहीं आउंछु, उनले सुनाए । भैरहवाका विभिन्न व्यवसायी खाजाको समय भएपछि तिवारीकै मम पसल पुग्छन् । पहिलेपहिले मकै भट्ट खाएर दिनभरि काम गरिन्थ्यो तर अहिले पैसा भएपछि सजिलो खाजा पाइन्छ, यसमै रमाइन्छ , उनले भने । साथै विद्यार्थी र युवा जमात पनि उनका ग्राहक हुन् ।
रुपन्देहीका बुटवल, भैरहवा जस्ता शहरमा कहीं गल्ली पिच्छे त कहीं रेष्टुरांभरि ममको व्यापार हुन्छ ।
यो जस्तै भैरहवाको नवीन मममा समेत मानिसको भिड उस्तै हुन्छ । सस्तो दररेटमा मम पाइन्छ । दैनिक १ सय प्लेटभन्दा बढी नै विक्रि हुने गरेको छ । व्यवसायीक हिसाबले विकास भइरहेको भैरहवा क्षेत्रमा व्यस्त रहने मानिस दुनाटपरीमा मम खान खुसीसाथ जाने गरेका छन् । भेज पाइने भएकाले पनि वृद्ध, वृद्धासम्म आउंछन् । बुटवलको ट्राफिकचोकमा अर्घाखांची मम पसल छ । सांझको ५ बजेपछि उक्त पसलमा युवाको भिड लाग्छ । साईडमा कफी अनि भेज मम । युवा जमात गफ गर्दै मम खान व्यस्त रहन्छन् । ६० रुपैयां प्लेटमा पाइने ममले युवालाई स्वाद र समयको सदुपयोग गर्न सघाइरहेको हुन्छ । ट्राफिकचोक युवाको लागि साथीभाइ भेट्ने सांझमा रमाउने ठाउं भएकाले ममको विक्रि राम्रै भएको व्यवसायीले बताए ।
प्रकाशित मिति : आइतबार, पुष ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्