विश्वमै पहिलोपटक जिन सम्पादन गरेर बच्चा विकसित, विवाद किन ?

विश्वमै पहिलोपटक जिन सम्पादन गरेर बच्चा विकसित, विवाद किन ?

संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबी गर्ने एक चिनियाँ वैज्ञानिकले आफ्नो कार्यको प्रतिरक्षा गरेका छन्।

हङ्‌कङमा आयोजित जिनोम सम्मेलनमा बोल्दै प्राध्यापक ख जिएन्क्वेले एचआईभी लाग्न नसक्नेगरी दुई जुम्ल्याहा बालिकाको जिन सम्पादन गरेकोमा आफूलाई ‘गर्व’ लागेको बताएका छन्।

उनले केही दिनअघि घोषणा गरेको उक्त कार्यको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

धेरै वैज्ञानिकले उनको त्यस्तो घोषणाको निन्दा गरेका छन्। एक जनाले त त्यसलाई ‘दानवीय’ कार्य भनेका छन्।

अधिकांश देशमा जिन सम्पादन अर्थात् मानव वंशाणुमा परिवर्तन गरी परीक्षण गर्ने कार्य प्रतिबन्धित छ।

प्राध्यापक ख कार्यरत चीनको शन्जनस्थित सदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले त्यस्तो अनुसन्धान परियोजनाबारे आफूलाई थाहा नभएको र यस विषयमा छानबिन गर्ने बताएको छ।

प्राध्यापक खले पनि आफूले विश्वविद्यालयलाई सो कामबारे जानकारी नदिएको र आफैले त्यसका लागि खर्च जुटाएको दाबी गरेका छन्।

के हो उनको दाबी?
जुम्ल्याहा बालिकामा एचआईभी सङ्क्रमण नहुने गुण विकसित हुनेगरी तिनको भ्रूणमा डीएनए परिवर्तन गरिएको दाबी ती वैज्ञानिकले गरेका थिए।

विवाद सिर्जना भएको केही दिनपछि युनिभर्सिटी अफ हङ्‌कङमा आयोजित ‘ह्युमन जिनोम एडटिङ समिट’ मा बुधवार उनले पहिलोचोटि बोलेका थिए।

उनका अनुसार लुलु र नाना नाम राखिएका ती बालिकाहरू सामान्य रूपमै जन्मिएका थिए र अहिले स्वस्थ छन्।

उनीहरूलाई १८ वर्षसम्म निगरानीमा राख्ने योजना भएको उनले सुनाए।

एचआईभीको सङ्क्रमण भएका पिता र नभएका आमा सहितका आठवटा दम्पती स्वैच्छिक रूपमा त्यो प्रयोगका लागि तयार भएको उनको भनाइ छ। तर पछि एउटा दम्पती भने सहभागी भएनन्।

आफ्नो अनुसन्धान एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्न पठाइएको दाबी उनले गरेका छन्।

उनका अनुसार सम्पादित जिन अर्थात् फेरिएको वंशाणुयुक्त भ्रूण भएको अर्को एउटा गर्भ प्रारम्भिक चरणमा रहेको छ।

विवाद किन ?

खले आफूले जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको ‘क्रिस्पर’ नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो।

यो प्रक्रियाअनुसार ‘मलेक्युलर सिजर्ज’ अर्थात् ‘आणविक कैँची’ प्रयोग गरेर डीएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ।

जिन सम्पादनबाट भ्रूणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशानुगत रोग रोक्न सकिन्छ।

तर भ्रूणको जिनोममा हेरफेर गर्दा जन्मिने बच्चा मात्र नभएर तिनका सन्ततिमा पनि त्यस्तो परिवर्तन गरिएका वंशाणुहरू सर्ने भनेर विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।

त्यसैले वैज्ञानिकहरूले प्राध्यापक खको घोषणाको आलोचना गरेका छन्।

सयौँ चिनियाँ वैज्ञानिकहरूले खको अनुसन्धानको निन्दा गर्दै र आफूहरू त्यसको विपक्षमा रहेको जनाउँदै हस्ताक्षर गरेर एउटा पत्र सामाजिक सञ्जालमा प्रेषित गरेका छन्।

युनिभर्सिटी अफ अक्स्फोर्डमा कार्यरत एथिक्स अर्थात् नैतिक मूल्यमान्यताका विशेषज्ञ जुलियन स्याभलेस्कू भन्छन्, “यदि सत्य हो भने यो प्रयोग दानवीय छ। जिन सम्पादन आफैँमा प्रयोगात्मक छ र अझै पनि यससँग अनपेक्षित म्युटेशन (आनुवंशिक विकृति) जोडिन्छन्।”

उनका अनुसार कृत्रिम रूपमा जिन सम्पादन गर्दा क्यान्सरलगायत अन्य आनुवंशिक समस्या उत्पन्न हुनसक्छ।

धेरै देशमा प्रजननका लागि मानिसमा जिन सम्पादन गर्न पाइँदैन।

कृत्रिम गर्भाधान गराउन तयार पारिएको भए पनि पछि परित्याग गरिएका भ्रूणमा वैज्ञानिकहरूले जिन सम्पादनको प्रयोग गर्न पाउँछन्। तर तिनबाट बच्चा विकास नगराई तुरुन्तै नाश गर्नु पर्छ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij