एन्फाद्वारा खेल तालिका सार्वजनिक, मोफसलमा तेइस प्रतियोगिता

एन्फाद्वारा खेल तालिका सार्वजनिक, मोफसलमा तेइस प्रतियोगिता

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ ।

मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार्वजनिक गरेको हो ।

एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ ।

मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो ।

प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् । एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ ।

प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा छ वटा ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ । आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ ।

त्यस्तै एन्फाले ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र ‘ए’ डिभिजनका चार क्लबले खेल्नुपर्नेलगायत मापदण्ड तोकेको प्रवक्ता राईले उल्लेख गरे।

यस्तो छ समय तालिका
एन्फाले सार्वजनिक गरेको प्रतियोगिता र समय तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप, पुस २४ गतेदेखि माघ ५ सम्म कैलालीको धनगढीमा तेस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, पुस २४ देखि माघ ५ सम्म वीरगञ्जमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।

एन्फाका अनुसार माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औँ सिमरा गोल्डकप र माघ ११ गतेदेखि १८ गतेसम्म सुनसरीको इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ । यसअघि मदनभण्डारी गोल्डकप काठमाडौँमा आयोजना गर्ने भनिए पनि रङ्गशाला निर्माणको काम नसकिएकाले इटहरीमा गर्न लागिएको हो ।

माघ १५ देखि २६ गतेसम्म पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, माघ १८ देखि २७ सम्म झापामा प्रथम धैलाशुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ आँै शहिद भीमनारायण गोल्डकप हुनेछ ।

यस्तै माघ २६ देखि फागुन ४ गतेसम्म धरानमा २१ औ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, माघ २९ देखि फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ आँै आहा रारा गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप, फागुन ७ देखि १८ गतेसम्म बुटबलमा २१ आँै तिलोत्तमा गोल्डकप, फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप इलाममा हुने एन्फाले जनाएको छ ।

यसैगरी फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ आँै विकास शिल्ड फुटबल प्रतियोगिता, फागुन २९ देखि चैत ९ गतेसम्म हेटौडामा तेस्रो हेटौँडा गोल्डकप, चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुर गोल्डकप, चैत १८ देखि २७ गतेसम्म चौथो नेपालगञ्ज गोल्डकप, चैत २२ देखि ३० गतेसम्म नुवाकोट गोल्डकप, चैत २५ देखि वैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षी जनक गोल्डकप, वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ । रासस

प्रकाशित मिति : बुधबार, मंसिर २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij