अमृतसरहको दुध बन्नसक्छ विष, दुध किन्दा ख्याल गर्नुस् यी कुरा

अमृतसरहको दुध बन्नसक्छ विष, दुध किन्दा ख्याल गर्नुस् यी कुरा

काठमाडौं : दुध अमृत हो । खासगरी बालबालिका, वृद्ध, बिरामी र गर्भवतिका लागि दूध अमृत मात्रै हैन पोषक तत्वको मुख्य श्रोत पनि हो । दुधलाई सर्वोत्तम पेय मानिन्छ।

तर पछिल्लो समय त्यही पोषिलो दूध मानव स्वास्थ्यका लागि विषतुल्य बन्न थालेको विज्ञहरुले अध्ययनबाट भेटाएका छन् ।

विज्ञकाअनुसार पछिल्लो समय ऐन्टिबायोटिक्स औषधिको ‘अवशेष’युक्त दूध आम मानिसले प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। यसले मावन स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्छ।

गाईभैंसीको थुन र कल्चौडोमा लाग्ने एक प्रकारको जटिल रोग थुनेलो नियन्त्रण गर्न प्रयोग गरिने एन्टिबायोटिक्स समूहको कडा औषधिका कारण दूध विषाक्त बन्दै गएको हो।

एन्टिबायोटिक्स खुवाएका गाईभैंसीको दूध प्रयोग गर्नु मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ। पशु सेवा विभागकाअनुसार थुनेलो रोगबाट प्रभावित गाईभैंसीको दूध सेवनका कारण अहिले विश्वभर बर्सेनि करोडौंको संख्यामा सर्वसाधारण प्रभावित बन्न थालेका छन्।

यो रोगबाट प्रभावित गाईभैंसीको दूध खुला र प्याकेटका रूपमा नेपाली बजारमा पनि आउने गरेको छ। विभागका महानिर्देशक डा. बिमलकुमार निर्मल भन्छन्, ‘हामी पोषिलो आहाराको रूपमा दूध सेवन गर्छौं, तर यो कस्तो स्रोतबाट आएको हो, सोच्नुपर्ने बेला आएको छ। जताभावी दूध सेवन गर्दा यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पुग्ने सम्भावना अत्यधिक हुन्छ।’ गाईभैंसीमा प्रयोग गरिने एन्टिबायोटिक्स औषधिको ‘अवशेष’ दूधमार्फत बालबालिका, गर्भवति महिलाका साथै आम सर्वसाधारणको शरीरमा पुग्छ जुन घातक पनि हुन सक्छ।

उनकाअनुसार थुनेलो रोगका लागि गाईभैंसीमा सिप्रोफ्लक्सासिन, ओफ्लक्सासिनजस्ता औषधि दिनुपर्ने हुन्छ। यो रोग दुधालु गाईभैंसीमा मात्रै लाग्ने गर्छ। रोगले धेरै नच्याप्दासम्म मासुमा र साह्रै गाह्रो भएपछि कल्चौडामै सुइमार्फत दिने गरिन्छ। ‘यसरी औषधि प्रयोग गरिन्जेल अथवा रोग निको नभइन्जेल उक्त गाईभैंसीको दूध सेवन गर्नु हुँदैन’, महानिर्देशक निर्मलले भने।

विभागकाअनुसार गाईभैंसीलाई ऐन्टिबायोटिक्सको सुई लगाएको न्यूनतम १२ घण्टासम्म पर्खेर दूध दुहने गर्नुपर्छ। यसले एन्टिबायोटिक्स औषधिको अवशेष दूधमा नआउने दाबी विभागको छ। ‘१२ घण्टा पनि नपर्खी दूध दुहुनाले एन्टिबायोटिक्सको अवशेष सोझै दूधमा आउँछ। उक्त दूध बालबालिका र गर्भवति महिला र वृद्धलाई घातक मानिन्छ’, डा. निर्मलले भने।

यसले वृद्ध, गर्भवति महिला र बिरामीले पौष्टिक आहारको रूपमा प्रयोग गर्दा उल्टै जोखिम बढ्छ भने नयाँ रोग पनि थपिन सक्छ। ती जोखिमयुक्त व्यक्ति र आम मानिसमा उक्त एन्टिबायोटिक्स रेसिस्ट भई कुनै रोग लागेमा निको नहुने र कडा औषधि प्रयोग गर्नुपर्ने हुन्छ।

‘हुर्कंदै गरेको शिशु, साना बालबालिका वा अन्य समूहका सर्वसाधारणलाई कुनै रोग लाग्दा त्यही समूहका औषधिले काम गर्दैन, अवशेषको मात्रा बढ्दै गए साइट इफेक्ट हुँदा शरीरको कुनै अंगले काम नगर्ने र दीर्घकालीन रोग निम्तिने सम्भावना पनि उत्तिकै हुन्छ’, डा. निर्मलले भने।

पशु सेवा विभागकाअनुसार थुनेलो रोगबाट प्रभावित गाईभैंसीको दूध सेवनका कारण अहिले विश्वभर बर्सेनि करोडौंको संख्यामा सर्वसाधारण प्रभावित भएका छन्।

एन्टिबायोटिक्स समूहतर्फ नयाँ औषधि संसारभर नआएको करिब २० वर्षभन्दा बढी भएको विभागको भनाइ छ। अवशेषयुक्त दूध सेवन गर्ने व्यक्तिमा त्यही समूहसहित अन्य समूहको एन्टिबायोटिक्स औषधिले काम नगर्ने र नयाँ एन्टिबायोटिक्स औषधिसमेत नबनेकाले विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

विभागकाअनुसार केही ठूला अत्याधुनिक उपकरणसहितको सहकारी संकलन केन्द्रले यस्ता दूध परीक्षण गरे पनि करिब ९० प्रतिशत यस्ता अवशेषयुक्त दूध सोझै स्वच्छ दूधमा मि श्रण गरेर बजारमा पठाउने गरिएकाले जटिल समस्या उत्पन्न भएको छ।

कुल गाईभैंसीमध्ये करिब २० प्रतिशतको संख्याका गाईभैंसीमा यो रोग लागिरहन्छ। अत्यधिक परिमाणमा दूध दिने गाईभैंसीको कल्चौडो र थुनमै यो रोगले संक्रमण गर्छ। रोग लागेपछि दूध उत्पादनमा कमी आउँछ।

दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’
सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो । मन्त्रालयका अनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाई समेट्न लागिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालका अनुसार दूधमा स्वच्छता एवं गुणस्तर कायम राख्न यस्तो कार्यविधि ल्याउनुपरेको हो ।

मानव स्वास्थ्यसँग जोडिएको विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको जानकारी दिँदै मन्त्री खनालले दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुने व्यक्तिको हातमा घाउ चोट तथा खटिरा नभएको तथा सङ्क्रामक रोग नलागेको हुनुपर्ने तथा पशु राख्ने गोठ सफा हुनुपर्ने विषयलाई निर्देशिकामा समावेश गरिएको छ ।

निर्देशिकामा सङ्कलन भएको दूध यथाशक्य अर्थात् दुई घण्टाभित्र चिस्यान केन्द्रमा पु¥याउनुपर्ने उल्लेख छ । यस्तै कुनै विषम अवस्थामा दूध चिस्यान केन्द्रमा पु¥याउन नसकिएमा काँचो दूधलाई ५७ देखि ६८ डिग्री तापक्रममा तताएर तुरुन्तै चिसो पारी चिस्यान केन्द्रमा पठाउनुपर्नेछ ।

दूध ढुवानीका लागि प्रयोग गरिएका भाडा, क्यान आदि सफा गर्न पर्याप्त पानी र अन्य व्यवस्था मिलाउनुपर्नेछ । सङ्कलन केन्द्रमा सडक विद्युत्को सुविधा हुनुपर्ने तथा किसानले दूध ल्याएका भाडा सफा गरेरमात्र पठाउने व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ । दूध सङ्कलनका लागि आल्मुनियम वा स्टेनलेस स्टिलबाट बनेका भाँडा वा क्यानमा मात्र प्रयोग गर्नुपर्नेछ ।

यस्तै निर्देशिकाले बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । दूधमा पानी तथा अन्य कुनै बाह्य पदार्थ मिसावट गर्नु हुँदैन र मिसावट भएको दूध खरीद बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । गुणस्तर बिग्रेको, फाटेको वा बिगौती दूध चिस्यान केन्द्रमा लैजान पाइने छैन ।

यस्तै सङ्कलन भएको दूध गुणस्तर नबिग्रने गरी छिटो साधनद्वारा चिस्यान केन्द्र वा प्रशोधन उद्योगमा पु¥याउनुपर्ने, दूध ढुवानी गर्ने भाडा वा ट्याङ्करको बिर्को राम्रोसँग बन्द गरिएको हुनुपर्नेछ ।

कार्यविधिमा दूध चिस्यान केन्द्र, उद्योग तथा बिक्री केन्द्रलाई समेत नियमअनुसार सञ्चालन गर्नुपर्ने र मानव स्वास्थ्यलाई विशेष ध्यान दिइएको छ । चिस्यान केन्द्रबाट दूध प्रशोधन उद्योगस्म्म दूध ढुवानी गर्दा ढुवानी साधन वा ट्याङ्करमा सिल लगाउनुपर्नेछ । सरकारी निकायले त्यस्तो सवारी साधनको सिल खोली दूधको स्वच्छता तथा गुुणस्तर अनुगमन गर्न सक्नेछ ।

डेरी उद्योग स्थापना गर्न चाहने व्यक्ति वा संस्थाले खाद्य नियमावली, २०२७ अनुसार तोकिएको सरकारी कार्यालयबाट डेरी उद्योग स्थापना गर्न सिफारिश लिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यस्तै कामदारको सरसफाइलाई पनि विशेष ख्याल गर्नुपर्ने, तोकिएको स्वच्छता मापदण्ड पूरा गरेको हुनुपर्नेछ । डेरी उद्योगले दूधको स्वच्छता र गुणस्तर परीक्षण, नष्ट वा फिर्ता गरिएका दूधलगायतका कच्चा पदार्थ खरीद गरेको स्रोत, परिमाण, गुणस्तरसम्बन्धी विवरणकोसमेत अभिलेख राख्नुपर्छ ।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij