काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा अशुल्ने टोलीसँग वार्ता नगर्ने बताएका छन्। मंगलबार सुरक्षा माग्न पुगेका म्यानपावर व्यवसायीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आतंक मच्याउने समूहसँग अब वार्ता नगर्ने बताएका हुन्।
बम पड्काउने र आतंकित पार्ने कार्य राजनीतिक नभएकाले वार्ता केका लागि गर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पैसाका लागि बम हान्नेहरुसँग वार्ता हुँदैन। उनीहरुलाई अब कानून अनुसार नियन्त्रणमा लिइन्छ र कारबाही गरिन्छ।’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट भएपछि म्यानपावर व्यवसायीले सुरक्षाको माग गरेका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा व्यवसाय र व्यवसायीको सुरक्षा तथा क्षतीपूर्तिको माग गर्दै घटना समन्वय समितिले निवेदन दिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँ महानगरपालिका ३ बसुन्धारामा रहेको घरमा फागुन २४ गते साँझ बम बिस्फोट गराइएको थियो।
ने.क.पा विप्लवको भातृ संगठन युवा संगठन नेपालले वक्तव्य जारी गर्दै बिस्फोटको जिम्मा लिएको थियो। बिष्फोटबाट अध्यक्षको निजी निवास, गाडी र कार्यालयका धेरै सामानमा क्षति पुगेको छ।
यो बिस्फोट व्यक्तिमाथि नभई नेपालका समग्र व्यवसायी प्रति भएको समन्वय समितिको ठहर छ।
ने.क.पा.विप्लवको भातृ संगठन युवा संगठन नेपालले केही समय अगाडी संघमा आर्थिक सहायता माग गरी पत्र पठाएको व्यवसायीले बताएका छन्। प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा भनिएको छ, ‘बिष्फोट अघि माग गरिएको आर्थिक सहायता नदिएको कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक संकलन गर्ने नियतले गरिएको र यो बिस्फोट व्यवसायीमाथीको मात्र नभई राज्य माथी कै आक्रमण भएको हो भन्ने हाम्रो ठहर रहेको छ।’
गैर कानुनी रुपमा आर्थिक सहायता नदिएकोे कारणले सवारी साधन, व्यक्तिको निजी घरमा बम बिष्फोट गराई आतंकित पारेको र व्यवसायी हतोत्साही हुने र जनतामा आतंकपूर्ण वातावरण सृजना हुने भएकाले यस्ता गैर कानुनी कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही गरी व्यवसाय गर्ने वातावरण बनाई दिन व्यवसायीको माग छ।
यस्तै बिस्फोटबाट संघका अध्यक्षको घर, सवारी साधन र कार्यालयमा भएको क्षतिको उचित क्षतिपुर्ति सरकारबाट दिलाईदिनु प्रधानमन्त्रीसँग माग गरेका छन्। आगामि दिनमा यस्ता घटना हुन नदिन वार्ता सम्वाद, छलफलबाट समाधान गर्न पनि माग गरेका छन्।
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्