मदरसा शिक्षालाई मूलधारमा ल्याउन प्रदेश ५ सरकारको तयारी


सोमवार, भदौ २३, २०७६

मदरसा शिक्षालाई मूलधारमा ल्याउन प्रदेश ५ सरकारको तयारी

बुटवल–मुस्लिम समुदायको अरबी र उर्दू भाषामा अध्यापन गराउने मदरसालाई मुलधारमा ल्याउन प्रदेश ५ सरकारले तयारी थालेको छ ।
प्रदेश सरकारले मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ बनाएर मदरसा शिक्षालाई मुलधारमा ल्याउने तयारी गरेको हो ।

यसले मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

सरकारले ८ वर्षअघि धार्मिक शिक्षालाई राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउने नीति बनाएपनि कार्यान्वयनमा आउन सकेको थिएन । जसका कारण मदरसामा उच्च तहको शिक्षा लिएका व्यक्ति पनि राष्ट्रिय गणनामा पर्दैनन्, निरक्षर मानिन्छन् ।

मदरसामा हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिलजस्ता तहमा अध्यापन भइरहेको छ ।

राष्ट्रिय नीतिले मूलधारमा ल्याउन नसकेपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर मदरसा शिक्षालाई मूलधारमा ल्याउनका लागि प्रक्रिया अघि बढाएको हो ।
कार्यविधिको उदेश्यमा भनिएको छ–मुस्लिम समुदायका बालबालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि वैकल्पिक माध्यमका रुपमा स्थापित मदरसाहरुको शिक्षामा मूलप्रवाहीकरणका लागि आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने छ ।’

सामाजिक मन्त्रालयले मदरसाहरुलाई मूलधारमा ल्याउनका लागि कार्यविधिअनुसार प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समिति बनाउनेछ । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बन्ने ११ सदस्यीय समन्वय समितिले मदरसालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापन, अध्ययन र अनुसन्धानका क्षेत्रमा सहयोग र सहजीकरण गर्नेछ ।

समितिको उपाध्यक्षमा प्रतिष्ठित मुस्लिम व्यक्ति सरकारले मनोनित गर्नेछ भने आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग, सामाजिक विकास मन्त्रालयका सचिव सदस्य रहनेछन् ।
यस्तै मदरसा शिक्षा सञ्चालन गर्ने स्थानीय तहबाट मदरसा शिक्षामा योगदान पु¥याएका २ महिलासहित सामाजिक विकास मन्त्रालयले मनोनित गरेका ५ जना सदस्य रहने कार्यविधिमा व्यवस्था छ । २ वर्षको पदावधि हुने समितिको सदस्य सचिवमा शिक्षा विकास निर्देशनालयका सचिव रहने छन् ।

कार्यविधिअनुसार समितिलाई मदरसा शिक्षाको विकास र उत्थानमा संलग्न सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थाहरुसँग समन्वय र सहकार्य गर्नेछ ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल मुस्लिम समुदायको इस्लामिक शिक्षालाई व्यवस्थित गर्ने, मूलप्रवाहसँग जोड्नका लागि बनेको कार्यविधिअनुसार काम थालिने बताए ।
‘हामी छिटै नै समिति गठन गरेर काम थाल्छौं–उनले भने–यसले मदरसा शिक्षालाई मूलधारमा ल्याउन सजिलो पार्नेछ ।’

तथ्यांकअनुसार प्रदेश ५ मा करीब ७ प्रतिशत मुस्लिम छन् । करीब १ हजार मदरसा चलिरहेका छन् । तीमध्ये ४ सय १७ वटा मदरसाले मात्रै सरकारी मान्यता पाएका छन् ।

जसअनुसार मान्यता पाएकामा कपिलवस्तुमा सबैभन्दा धेरै १ सय ३५, रुपन्देहीमा १ सय ५, बाँकेमा १ सय २, नवलपरासी पश्चिममा ३४, बर्दियामा १३ मदरसा सञ्चालनमा छन् । यस्तै अर्घाखाँचीमा १२, दाङमा ११, गुल्मी र पाल्पामा २–२ र प्युठानमा एउटा मदरसा रहेका छन् । यी मदरसाहरुमा ९० हजार विद्यार्थी पढ्छन् ।

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६ , १:२४ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology