कुपोषण हटाउने कार्यक्रम निष्प्रभावी


आइतवार, भदौ २९, २०७६

कुपोषण हटाउने कार्यक्रम निष्प्रभावी
Photo Source : clipartstation.com

कपिलवस्तु । बालबालिकामा पोषणको अवस्था सुधार गर्न कपिलवस्तुमा वषौंदेखि कार्यक्रम सञ्चालनमा छन् ।
पछिल्लो ४ वर्ष यता जिल्लामा एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहको निर्वाचन पछि यो कार्यक्रम जिल्लाका १० वटै तहमा सञ्चालन हुदै आएको छ ।

कार्यक्रममा करोडौ रुपैयाँ लगानी गरिएको छ । तर जिल्लामा रहेका बालबालिकाको पोषणको अवस्थामा भने सुधार आएको छैन ।
कम तौल, ख्याउटे र पुड्कोपन हुने जस्ता समस्या बालबालिकामा छन् ।

पछिल्लो पटक जिल्लामा गरिएको सर्वेक्षणले कपिलवस्तुबाट कुपोषण नहटेको देखाएको छ । जिल्लामा गत आर्थिक बर्ष २०७५/७६ को पोषणको अवस्थाबारे संकलित तथ्याङ्कले १३ दशमलव ४ प्रतिशत बालबालिकामा कुपोषित रहेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आर्थिक वर्ष २०७५÷७६ मा कपिलवस्तु जिल्लामा ६ महिना देखी ५९ महिना सम्मका बालबालिका ६० हजार ३४ रहेको अनुमानित तथ्याङ्क रहेको थियो ।

सन् २०११ को नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले कपिलवस्तुका बालबालिकामा १५ दशमलब २ प्रतिशत कुपोषण रहेको देखाएको थियो ।
गत आर्थिक वर्षमा जिल्लाका १० स्थानिय तहका ४ हजार ४ सय ५३ बालबालिकाको तथ्याङ्क संकलन गर्दा सो समस्या भेटिएको हो ।

जिल्लामा मध्यम शीघ्र कुपोषण र कडा शीघ्र कुपोषणमा रहेका ५ सय ९५ प्रतिशत बालबालिका भेटिए । शिवराज नगरपालिकामा सबै भन्दा बढी र वाणगंगा नगरपालिकामा सबै भन्दा कम बालबालिका कुपोषित रहेको देखाएको छ । जिल्लाभरका सबै स्थानीय तहमा ६ देखि ५९ महिना सम्मका बालबालिकाको पाखुराको बिच भागको परिधि नाप लिदा सो अवस्था देखिएको हो ।

एकिकृत पोषण प्रबद्र्धन सम्बन्धि कार्यक्रमका फिल्डस्तरका कर्मचारीले संकलन गरेको तथ्याङ्कले जिल्लाको पोषणको सो अवस्था देखाएको हो । शिवराज नगरपालिकाको ३ सय ४० बालबालिकाको नाप लिदा ८३ बालबालिकामा मध्यम शिघ्र कुपोषण र ७ बालबालिकामा कडा शिघ्र कुपोषण देखिएको हो ।
जुन जिल्लाभरमै सबैभन्दा बढी हो । त्यसैगरि जिल्लाको वाणगंगा नगरपालिाकामा सबैभन्दा कम बालबालिकामा कुपोषण भेटिएका छन ।

वाणगंगा नगरपालिकाको ७ सय ७२ बालबालिकाको नाप लिदा १९ बालबालिकामा मध्यम शीघ्र कुपोषण र ७ बालबालिकामा कडा शीघ्र कुपोषण गरी २६ जना (३ दशमलव ४ प्रतिशत) कुपोषित बालबालिका रहेको भेटिएको हो ।

बुद्धभूमि नगरपालिकामा ७ दशमलव ९ प्रतिशत, कपिलवस्तु नगरपालिकामा १४ दशमलव ९ प्रतिशत, महाराजगञ्जमा १४ दशमलव ६ प्रतिशत र कृष्णनगरमा १७ दशमलव ९ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ ।

त्यसै जिल्लाका गाउँपालिकाहरुको हकमा विजयनगरमा २० दशमलव ६ प्रतिशत, मायादेवीमा १४ दशमलव ७ प्रतिशत, शुद्धोधनमा १३ दशमलव ६ प्रतिशत र यशोधरामा १० प्रतिशत कुपोषित बालबालिका भेटिएका हुन ।

बालबालिकामा कडा शिघ्र कुपोषणको अवस्था हेर्दा कृष्णनगर नगरपालिकामा सबैभन्दा बढी ४ दशमलव ९८ प्रतिशत र सबैभन्दा कम बुद्धभूमि नगरपालिकामा शुन्य दशमलव २ प्रतिशत रहेको छ ।

कृष्णनगरसँगै कडा शिघ्र कुपोषण रहेकामा क्रमशः विजयनगर, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका, यशोधरा, शिवराज, शुद्धोधन, मायादेवी र वाणगंगा नगरपालिका घट्दो क्रममा छन ।

विगतमा चेतनाको कमी रहेको र पाखुराको नाप परीक्षण गर्दा यस्तो अवस्था देखिएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले विगतको तुलनामा पोषणका अवस्थामा सुधार आएको दाबी गरे । ‘पहिलेको अवस्थामा सुधार आएको छ तर अझै जिल्लामा धेरै कुपोषित बालबालिकाहरु छन्–उनले भने–पोषणको अवस्थामा सुधार ल्याउन समुदाय स्तरमा सचेतना कार्यक्रम लैजानुपर्छ ।’

उनले भने–‘खानाको कमीले मात्रै नभई खाने तरिका नजान्दा कुपोषण हट्न सकेको छैन, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकलाई प्रोत्साहित गर्नु पर्छ ।’
सुआहारा कार्यक्रम दोश्रो चरणका जिल्ला संयोजक लवहरि बुढाथोकीले स्थानीय तहले पोषणका विषयमा चासो दिएकाले अहिले राम्रो नतिजाहरु आउन थालेको बताए । उनले स्थानीय तहले सामुहिक प्रतिबद्धता गरी पोषणको कार्यक्रमलाई महत्व दिएकाले विस्तारै सुधार आउदै गएको बताए ।

कस्तोलाई कुपोषित भन्ने ?
पाखुराको नाप लिँदा ५ दशमलव ५ सेन्टिमिटर देखि ११ दशमलव ५ सेन्टिमिटर सम्मकालाई रातो चिन्ह अर्थात कडा शीघ्र कुपोषण, ११ दशमलव ५ देखि १२ दशमलव ५ सेन्टिमिटरलाई पहेलो अर्थात् मध्यम शीघ्र कुपोषण भन्ने गरिएको छ । त्यसैगरि १२ दशमलव ५ सेन्टिमिटरभन्दा बढीलाई भने सामान्य अवस्थाको मानिन्छ ।

बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाउने तीनथरि उपाय छन् । जसमा पहिलो पाखुराको नाप लिने, दोस्रो उचाई अनुसारको तौल हेर्ने र तेस्रो दुवै खुट्टा सुन्निएको वा नसुन्निएको आधारमा कुपोषण पत्ता लगाउने गरिएको छ ।

कुपोषित बालबालिकालाई कस्तो खाना दिने
कुपोषित बालबालिकामध्ये कडा शिघ्र कुपोषित बच्चालाई तयार पारिएको उपचारात्मक खाना (आरयुटिएफ) दिईने गरिन्छ ।
मध्यम शिध्र कुपोषितका हकमा बच्चाको परिवारलाई खानाको विविधिकरण र सक्रिय खुवाईमार्फत परामर्श दिई स्वास्थ्य अवस्थामा सुधार ल्याईने गरिएको सुआहाराका स्वास्थ्य अधिकृत विजेन्द्र बन्जाडेले जानकारी दिए ।

‘हरेक बार खाना चारको अवधारणा अनुसार बच्चालाई खाना खानका लागि प्ररित गर्ने र निरन्तर स्तनपान र सरसफाईमा ध्यान दिनु महत्वपुर्ण हुन्छ’–स्वास्थ्य अधिकृत बन्जाडेले भने ।

कुपाषित बालबालिकाको उपचार कहाँ
जिल्लाभर ७३ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये २३ वटा स्वास्थ्य संस्थाहरुमा पोषण उपचारका लागि बहिरंग सेवा (ओटीसी सेन्टर) रहेका छन् ।
कडा शिघ्र कुपोषण पाईएका बालबालिकाहरुलाई उक्त ओटीसी सेन्टरले विशेष उपचार सेवा प्रदान गर्ने गरेको छ । त्यहाँ सम्भव नभएका बालबालिकाहरुलाई बुटवल स्थित प्रादेशिक अस्पताल परिसर भित्र रहेको पोषण पुनःस्थापना केन्द्रमा रिफर गरिदै आएको छ ।

पोषण कार्यक्रम सञ्चालनको लागि जिल्लामा यूएसएड सुआहारा दोस्रो कार्यक्रम, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयद्वारा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम, फेयर मेड, सेभ द चिल्ड्रेन जस्ता संस्थाका कार्यक्रम जिल्ला भर सञ्चालनमा छन । कालिका स्वावलम्वन सामाजीक केन्द्र, किड्स र किडार्क लगायतका संघ संस्थाहरु स्थानीय तहले लिएको योजना अनुरुप सहयोग पु¥याउन क्रियाशिल छन ।

प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६ , १२:१० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक : वालकृष्ण भुसाल
समाचार सम्पादक : सीता बराल
वरिष्ठ सम्वाददाता : फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology