१३औं सागको उद्घाटन आज : कराते, ब्याडमिन्टन र खोखो सुरु हुँदै


आइतवार, मंसिर १५, २०७६

१३औं सागको उद्घाटन आज : कराते, ब्याडमिन्टन र खोखो सुरु हुँदै

काठमाडौं, १५ मंसिर । १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आज  साँझ दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन हुँदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव नेपालमा आजबाट सुरु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ । करिब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम हिजै सम्पन्न भइसकेको छ ।

काठमाडौँ, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए । उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहनेछ । सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ । १३आैं सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको छ । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । दक्षिण एशियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउनुहुन्छ ।

 

प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६ , ७:४० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology