काठमाडौ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन्। किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताए।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो।
त्यस्तै
नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ।
यसैबिच
आज उधौली पर्व र योमरी पुन्ही ज्यापु दिवस भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्हीज्यापु दिवस को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले आज सार्वजनिक बिदा नभएको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्