बुटवल ।
गुरुङ समुदायले गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार पुस १५सहित अन्य जनजातिका पांच मुख्य पर्वमा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । २०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिएकाले सार्वजनिक विदा दिन माग गरेका हुन् । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार,ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा दिन माग गरेको हो । गुरुङ राष्ट्रिय परिषद रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदावासी जनजातिका पर्व र कला संस्कृतिहरु सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरुका पर्वमा सार्वजनिक विदा दिइनुपर्ने माग गनुृभयो । ‘२०६२—२०६३ को जनआन्दोलनको सफलतापछि गठित अन्तरिम सरकारले आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ४५।३ प्रतिशत जनताले आदिमकाल देखि मनाउदै आएका पाँचवटा पर्वमा सार्वजनिक विदा दिएको थियो’–गुरुङले भन्नुभयो–‘तर वर्तमान सरकारबाट विदा कटौती गरिंदा सिंगो आदिवासी जनजाति समुदायलाई अत्यन्त दुखित र आक्रोशित बनाएको छ ।’ वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले मुलुकमा परिवर्तनको अनुभूति हुन नसकेको र आदिवासी जनजाति समुदायको सामाजिक, साँस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको गुरुङले बताउनुभयो ।
सरकारले विदा कटौति गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने गुरुङले उहाले बताउनुभयो । सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभुति गराउन साथै बिभेद र असमानताको अन्तको लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वहरुमा सार्वजनिक विदा नदिएमा सशक्त आन्दोलनमा उत्रिने गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ का सचिव एलबी गुरुङले बताउनुभयो । ल्होसारमा सार्वजनिक विदाको माग गर्दै आइतबार बुटवलको सामाजिक विकास मन्त्रालय अगाडि दुईघण्टा वृहत प्लेकार्ड प्रदर्शन र ७ गते प्रदेश समितले मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा भाषिक सल्लाहकार भीम गुरुङले शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे आदिवासी जनजाति महासंघले आन्दोलनको नयां कार्यक्रम ल्याउने बताउनुभयो । ल्होसारमा सार्वजनिक विदाको माग गर्दै परिषदले रुपन्देहीका स्थानीय तहहरुलाई पनि ज्ञापनपत्र बुझाइएको सचिव ओमप्रकाश गुरुङले बताए । कार्यक्रममा तमुस्यो ह्युल छोंज धि रुपन्देही अध्यक्ष जुनमाया गुरुङ,गुरुङ विद्यार्थी छोंज धिं रुपन्देही अध्यक्ष पोविन्द्र गुरुङले पनि आफ्ना भनाई राख्नुभएको थियो । ल्होसारको मुल समारोह बुटवलमा पुस १४ गते र १५ गते रुपन्देहीका विभिन्न २१ स्थानमा इकाई समितिले मनाउने कार्यक्रम रहेको सचिव ओमप्रकाश गुरुङले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्