धेरै थोक गए हेर्दा हेर्दै..
रसिलो बचपन गयो
कँसिलो यौवन गयो
रहरहरूको नदी गयो
मेरै हो कि जस्तो लाग्ने समय पनि
सुस्त सुस्त बगी गयो !
विवस भई मदन गयो
थला परी गौरी गइन
नरमाएर गुँडमा गौंथलीहरू गए
नअटाएर मुलुकमा मुगलानीहरू गए !
धेरै थोक आए पनि देख्दा देख्दै..
महिना महिनामा हुलाकी दाई आए
वर्ष वर्षमा बा-काकाहरू आए !
पहिले आस बोकेर चिट्ठीहरू आए
पछि लाश बोकेर बाकसहरू आए !
आँधी आए हुरी आए लहर आए
अगेनो भर्भराउँदा,मन डराउँदा
बन्दूक बोकेका पाहुना घर आए
भोट माग्नेहरू आए
चोट थप्नेहरू आए !
भित्र साह्रै गुम्सियो भनी
आँशुहरू आँखाको दोभानमा घाम ताप्न आए !
चाड मनाउन पर्नी हो भनी
दशैंको मुखमा मुखिया आँगनमा हात थाप्न आए !
‘जिन्दगी हो, आउने-जाने त चलिरहन्छ’
मन यसरी पनि बुझाइएथ्यो
मन जसरी पनि बुझाइएथ्यो !
दुःख त त्यती बेला लाग्यो-
जति बेला
फूल लत्याएर आफ्नाहरू टाढा गए
अनि
मुस्कान बोकेर दुश्मनहरू नजिक आए !
एकदिन,
मेरो आँगनमा पनि हुनेछ
एउटा गज्जबको नाटक मंचन
जो जसको अगाडी
मुस्कान बोकेर म उभिंदा
अंगार ओकलेका थिए,
तिनैले खोज्नेछन
मेरो सबै भन्दा बढी मुस्कुराएको तस्वीर !
जो जसको सामू
फूल लिएर म पुग्दा
फ्यांकेका थिए त्यसलाई सडकमा
र
कुल्चेका थिए निर्ममताको बुटले,
तिनैले रोज्नेछन
ठूला ठूला फूलका थुङगाहरू
र
उन्नेछन बिदाईको माला !
चढाउनेछन
मेरो निर्जीव मुस्कान माथि !
अनि
भन्नेछन-
मान्छे त राम्रो थियौ,गयौ !
…भावपूर्ण श्रद्धान्जली…!!
हेमन्त गिरीको फेसबुकबाट
प्रकाशित मिति : सोमबार, माघ १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्