काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक १० हजार रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई राहत दिने तयारी गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी गरेको हो ।’
मन्त्रालयको प्रस्ताव कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ ।
‘रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ’, मन्त्री गुरुङले भन्नुभयो, ‘सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पर्कमै नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।’
देशभरिको वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको मन्त्रालयले जनाएको छ । अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्