बाका बलिया पाउहरूले
आमाको कमजोर पिठ्यूँलाई
प्रत्येक दिन माया गरेको देखे पछि
भिनाजुका तगडा शुक्रकिटले
दिदीका असहाय डिम्बहरूलाई
प्रत्येक बेतमा अंकमाल गरेको थाहा पाए पछि
दाजुका रंगीला रहरहरूले
भाउजुका बिचरा आँखाहरूलाई
प्रत्येक रात सुत्नै नदिए पछिको सुँकसुकी सुनेपछि
हृदय भित्रको ठूलो क्षेत्रफलमा बनेको
रङको कारखाना बन्द गरेको हुँ मैले !
प्रिया अचेल म,
गुलाबको आयात-निर्यात गर्दिन !
मेरी आमाको ढाडलाई
अलिकती आधारको मलम
जुटाउन सक्छु भन्ने लागेको दिन
मेरी दिदीको पाठेघरलाई
एक चिम्टी समानताको अधिकार
दिलाउन सक्छु भन्ने आँट आएको दिन
अनि
मेरी भाउजुका आँखालाई
अलिकती रहरका गाजलले
पोत्न सक्छु भन्ने विश्वास पलाएको दिन
म स्वीकार गर्नेछु
तिम्रा सिन्दूरी प्रस्तावहरू !
त्यो रातो धर्को
भाग्य रेखाकै बाटो भई बग्दछ प्रिया,
पखालेर लैजान्छ कैयौं रहरहरू
अनि
निर्माण गरिदिन्छ सपनाका
स-साना कुन्डहरूमा
अति विशाल नुनखानी !
जब मानिसलाई
नुन खाने बानी लाग्छ नि,
मानिसले आफ्नो वजुद गुमाउँछ प्रिया !
सहनाईको चर्को आवाजले
मनको आवाजलाई दबाएको दिन देखि
अति चर्को जीवन बाँच्न थाल्छिन बेहुली !
र तिमीलाई यो पनि बताऊँ,
अत्याधिक चर्कोले
अनन्त प्यास लगाइरहन्छ जिन्दगीमा !!
प्रिया,
बन्धनको बहानामा
रातो जीवनको कैदखानामा
एक अर्को पंक्षीलाई म
मेरी आमा, दिदी र भाउजु
बनाउन मन्जुर गर्दिन !
तत्काललाई
असल प्रेमीमा मेरो नाम
नलेखिए नलेखियोस् बरु !!
हेमन्त गिरीको फेसबुकबाट
प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्