बुटवल
सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ । दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी रियार भारतबाट स्वदेश फर्कने क्रममा सीमानाकामा अलपत्र परेकी थिइन् ।
भारतको दिल्लीस्थित गाजीयावादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र परेकी थिइन् । सीमामा अलपत्र परेको कुरा समाचारबाट थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बिहानैदेखि उद्दारको पहल गरेका थिए । बुटवल टुडे दैनिकले मंगलबारदेखि नै यस बिषयमा प्रमुख जिल्ला अधिकारी र तिलोत्तमा नगरपालिकालाई लक्ष्मीलाई सहयोग के हुन्छ भन्ने बिषयमा सोधीखोजी गरेको थियो । आज मात्र न्यूज बुटवल टुडे डड कममा ‘सिडियो सापलाई खुल्ला पत्र’ प्रकाशित गरेको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए । उद्दारका लागि नगरप्रमुख घिमिरेसहित तिलोत्तमा नगरपालिकाको टोली अपरान्ह ४ बजे बेलहिया पुगेको थियो । यसका लागि प्रमुख जिल्ला अधिकारी पन्थले भारतीय सुरक्षा अधिकारीहरुसँग नेपाल ल्याउनेबारेमा समन्वय गरेका थिए ।
सुत्केरीको समयमा उद्दार हुन नसकेपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो । अन्य नेपालीसँगै आफ्नो देश फर्किनुकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन नदिएकाले दुइ दिनसम्म अलपत्र परेकी हुन् । लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन् । उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उनको अवस्था देखेर खानाको प्रवन्ध गरेका थिए ।
दुई र तीन वर्षे अन्य दुई छोरीसहित श्रीमान मनोजको पनि उद्दार भएको छ । तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एमबुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ । अव परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । उनलाई छुट्टै कोठा र खानपिनका लागि स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले सुत्केरीको अवस्था देखेर आफूलाई निकै दया लागेको बताए । “सुत्केी अलपत्र परेको खवर सुन्नासाथ म धेरै चिन्तित भएँ, समयमै उद्दार गर्नुपर्छ भन्ने लाग्यो र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरें र उद्दारको काम सफल भयो”–उनले भने ।
लक्ष्मीको परिवार बसको फलामे सिटमा कोचिएर शनिबार साँझ सुनौली नाका आइपुगेका थिए । सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ । तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका थिएनन् । हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्नेमा त्यो सपना जस्तै भएको उद्दारपछि लक्ष्मीले बताइन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्