भरतपुर ।
चितवनको राप्ती नगरपालिकामा एकैघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि राप्ती नगरपालिकाले विशेष समिति बनाएर काम थालेको छ । एकैघरका आमा छोरामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नगरपालिकाले आज बिहान विशेष समिति बनाएर काम थालेको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् ।
काठमाडौंदेखि चितवनसम्मको यात्रा, चितवन पुगेपछि भएको भेटघाट, उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि समिति बनाएको नगरपालिकाले जनाएको छ । नागरिकखबरसँग कुराकानी गर्दै प्रमुख बरालले भनिन्, ‘हामीले उहाँहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचानका लागि समिति बनाएका छौँ । परिवारका सदस्य र सम्पर्कमा आएका छिमेकीलाई नजिकैको स्कुलमा क्वारेन्टाइनमा आजैदेखि राख्ने काम सुरु गरेका छौँ ।’
समितिले सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने र क्वारेन्टाइनमा राख्ने काम गर्नेछ । बेलायतबाट आएपछि गाउँमा चकलेट बाँडिएको र त्यो चकलेट खानेलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । वडाध्यक्ष बुद्धिराज थपलियाले बेलायतबाट ल्याएको चकलेट बाँडेको र त्यो चकलेट खानेहरुलाई पनि निगरानीमा राख्नुपर्ने अवस्था आएको बताएका छन् ।
कोरोना संक्रमित दुवैजना चैत ३ गते नेपालका थिए । नगरपालिकाको आग्रहपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । सुरुमा अस्पताल जान अस्वीकार गरेका दुवैजनालाई नगरपालिकाका प्रतिनिधिले सम्झाएर कोरोना विशेष अस्पतालमा पठाएका थपलियाले जानकारी दिए ।
हङकङबाट आएका अर्का छोराको भने पिसिआर परीक्षण पनि नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]