तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रयाक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।
नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रयाक्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए ।
तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रयाक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार २५० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा १ हजार ८ सय रुपैंयाँ निर्धारण भएको लुम्बिनी टे«क्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिनुभयो ।
अब तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेको भन्दा बढी भाडा कसैले लिन पाउने छैनन् । तर, तोकिएभन्दा कम भाडा लिन व्यवसायीले सक्नेछन् । तिलोत्तमा नगरपालिकाले टे«क्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । तिलोत्तमाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । प्रमुख खाद्यबाली धान, गहुँ, मकैंको यहाँ ठूलो परिमाणमा उत्पादन हुने गर्दछ ।
स्थानीय सरकारले ट्रयाक्टरको भाडा दर निर्धारण गरेकोमा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्था लगायतकाको आधारमा आगामी दिनमा भाडादरलाई समायोजन गरेर अघि बढिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो । यसअघि तिलोत्तमाका कतिपय वडामा कल्टिभेटरको पन्ध्र सय तथा रोटाभेटर र थ्रेसरको दुई हजार एक सयसम्म प्रतिघण्टा भाडा लिने गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्