बाँके – नेपालगञ्ज उपमहानगरपालिकालाई आजदेखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि साेमबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि आउँदाे बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।
सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उहाँले जानकारी दिनुभयो । बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
नेपालगञ्जमा गएकाे शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरुले पनि सतर्कता अपनाएका छन् । लकडाउन कडा बनाउनुका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुमा रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पालिकाहरुले सूचित गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्